Logo
Logo
बक्रदृष्टि

एमाले ‘आवारा’, देउवा ‘खुस्किए’ र रवि ट्वाँ


0
Shares

एमाले भनेको आवाराहरुको पार्टी हो भन्ने कुरा पनि ओलीकै मुखबाट निस्कनुपर्ने, कस्तो विडम्बना ? ओलीका वरपरका अनुहार हेर्दै आवाराजस्ता छन्, त्यही देखेरै ओलीले यसो भनेका होलान् ।

त्यही भएर होला अस्ति गृहजिल्ला पुगेका एमाले अध्यक्ष ओलीले पार्टी अफिसको क्यान्टिनमा बसेर अध्यक्ष हटाउने कुरा पो गर्दा रैछन्, होइन यो कतै आवाराहरुको पार्टी त बनेन ? यदि एमाले ‘आवारा’हरुकै पार्टी हो भने त्यसका अध्यक्ष ओली के त ? ‘आवारा’का नाइके ? यो कुरा त अलि हजम भएन नि, कसो शंकर पोखरेल कामरेड ?

देउवा ‘खुस्किए’

देउवा विदेशबाट के मात्र नेपाल फर्किएका थिए, देशमा उधुमै मच्चियो । कांग्रेसको भेलामा देउवाले जंगिँदै म हिन्दू, म हिन्दू भनेर चिच्याएको सुन्दा मञ्चमा बसेका कांग्रेसजनले कतै देउवाको दिमाग त खुस्किएन ? भनेर कानेखुशी गर्दै थिए । त्यसमध्ये विपी पुत्र सशांक कोइरालाले भन्दै थिए– राम नाम जप्ने बेलामा हिन्दू नभनेर अरु के भन्ने त ? कसो प्रकाशमान सिंहज्यू ?

रवि ट्वाँ

सामाजिक सञ्जालबाट बनेको पार्टी र सरकारलाई अल्लारे ठिटाहरुले सामाजिक सञ्जालबाटै व्यंग्य गर्न थालेका छन् । अस्ति एक जनाले आफ्नो ‘फेसबुक’मा ‘मल छैन गाईभैँसी पाल, ग्यास छैन दाउरा बाल, तर भोटचाहिँ घण्टीमा हाल’ भनेर पोष्ट गरेको देखेर रवि लामिछाने ट्वाँ परे ।

कस्ता सांसद ?

रास्वपाका सांसदहरु पनि रंगीचंगी छन् । हजारौं जिब्रो भएका शेषनागले पनि ती सांसदहरुको वयान गर्न सक्दैनन्, त्यसमध्ये एक हुन्– माननीय खगेन्द्र सुनार ।

उनले सार्वजनिक लेखा समितिको बैठकमा प्रहरी प्रमुख दानबहादुर कार्कीको हुर्मत लिनुसम्म लिए । उनको कुरा सुनेर आइजी कार्की निकै भावुक पनि भए र उनले पुर्पुरो समाउँदै भने– प्रहरीलाई घिसार्छु भन्ने… ‘होइन हामी कस्ताबाट शासित हुन पुगेछौँ’ भन्दा सुनार लाजले भुतुक्क हुँदै जुरुक्क उठेर हिँडेको देख्दा वर्षमान पुन पेट मिचीमिची हाँसे ।

कसो शेखर कोइरालाज्यू ?

शेरबहादुर देउवा विदेशमा उपचार गरेर फर्किएपछि उनका कार्यवाहक पूर्णबहादुर खड्का अचानक गायब भएका छन् । देउवा गुटको भेटमा उनी कतै पनि देखिएनन् ।

उपचार गर्न विदेश गएका देउवा विदेशबाट काठमाडौं ओर्लनासाथ बर्बराएको सुनेर पूर्णबहादुरले आफूनिकट कार्यकर्ताहरुलाई भन्दै थिए, के को उपचार गरेर फर्किएका रै’छन्, बर्बराउँदै छन् त ? अझ म हिन्दू हुँ हिन्दू भनेर चिच्याउँदै पो छन्, कतै सिंगापुरमा दिमागकै उपचार गरेर फर्किएका त होइनन् ? कसो डा. शेखर कोइरालाज्यू ?

प्रतिक्रिया दिनुहोस्