काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले हाल नेता तथा कार्यकर्ताले आलोचना र निन्दाबीचको भिन्नता छुट्टाउन छोडेको बताएका छन् ।

शनिवार ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित ‘हि टोल्ड असः इन स्पिरिट एन्ड स्ट्रगल’ संवाद कार्यक्रममा बोल्दै थापाले आलोचना र निन्दा फरक कुरा भएको स्पष्ट पारे । कांग्रेस नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको स्मृति दिवसका अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा थापाले भने, “हामी एउटा चरममा पुगेर आलोचना र निन्दाबीचको फरक छुट्टाउन छोडेका छौँ । एकैचोटि निन्दामा पुग्छौँ। अर्कोतर्फ फेरि एकैचोटि पूर्ण समर्थनमा पुग्छौँ, जहाँ कुनै प्रश्न नै हुँदैन ।” प्रदीप गिरी यी दुवै अवस्थाभन्दा माथि रहेको उनले उल्लेख गरे । “हामीले पार्टी कार्यालयका बैठकहरूमा थुप्रै साथीहरूसँगै काम गर्यौँ। अरूबारे अनुमान गर्न सकिन्थ्यो-दायाँपट्टि बसेका हुन् कि बायाँपट्टि, अहिले सभापतिको पक्षमा बोल्छन् कि यता बोल्छन् भन्ने । तर प्रदीप गिरी बोल्न उठ्दा उहाँले के भन्नुहुन्छ भन्ने अनुमान नै गर्न सकिँदैनथ्यो,” थापाले भने ।
नेता गिरीको चर्चा गर्दै सभापति थापाले उहाँप्रति सबैमा एउटा विशेष आकर्षण रहेको बताए । “उहाँ भित्रैदेखि बोल्नुहुन्थ्यो, उहाँका आफ्नै निश्चित सिद्धान्तहरू थिए । तर उहाँको असहमति निन्दाभन्दा धेरै टाढा थियो र सधैँ गरिने पूर्ण समर्थनभन्दा पनि फरक थियो,” थापाले भने ।














