
काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री थापाले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न सांसदहरूलाई ‘ह्विप’ जारी गरेको हो ।
भदौ ८ गते सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यसूची रहेको छ । सोही विषयमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले एक पत्र जारी गर्दै कांग्रेसका सबै सदस्यहरूलाई अनिवार्य उपस्थित हुन र प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन सहित ‘ह्विप’ जारी गरेका हुन् ।
मुख्यमन्त्री थापाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्रीले विश्वासको मतको प्रस्ताव पेस गर्ने तयारी गरेका छन् । उक्त प्रक्रियाका लागि प्रदेशसभा बैठक समेत आह्वान गरिएको छ ।















