Logo
Logo

५०० दिनभित्र सुकुम्वासी समस्या समाधान गर्छौँ : भूमिसुधार मन्त्री प्रतिभा रावल


0
Shares

काठमाडौं । सामान्य प्रशासन तथा भूमिसुधार मन्त्री प्रतिभा रावलले देशभरको सुकुम्वासी समस्या ५०० दिनभित्र समाधान गर्ने घोषणा गरेकी छन् । कञ्चनपुरमा स्थानीय सुकुम्वासी बस्तीका बासिन्दालाई सम्बोधन गर्दै उनले सरकार गठन भएको पहिलो दिनदेखि नै यस विषयमा आफू सक्रिय रहेको बताइन् ।

The current image has no alternative text. The file name is: pratibha-rawal-raswopa.jpg

सम्बोधनका क्रममा मन्त्री रावलले काम नगरी जनताको सम्मान लिने प्रवृत्तिको विरोध गरिन् । स्वागतका लागि तयार पारिएको अबिर र खादालाई अस्वीकार गर्दै उनले भनिन्, “तपाईँहरूको समस्या समाधान गरेर आएपछि मात्र म अबिर र खादा लगाउँछु । काम नगरी सम्मान लिनुको कुनै अर्थ छैन ।” 

उनले आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी वा अन्य कुनै पनि दलका नेतालाई काम पूरा नभई सम्मान गर्न हतार नगर्न आग्रह गरिन् । सुकुम्वासीमा रहेको विस्थापनको त्रासलाई सम्बोधन गर्दै मन्त्री रावलले कसैलाई पनि बिना विकल्प नउठाइने आश्वासन दिइन् ।

“डोजर लगाइदिने हो कि भन्ने त्रास नपाल्नुहोस् । कानुनसम्मत तरिकाले जसले लालपुर्जा पाउनुपर्ने हो, उहाँहरूले पाउनुहुन्छ,” उनले भनिन्, “केही जग्गा नकारात्मक सूचीमा परे पनि नीतिगत परिवर्तन गरेर समाधान खोजिनेछ ।” मन्त्री रावलले सुकुम्वासी र सहकारी पीडितको समस्या सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै ५०० दिनभित्र लालपुर्जा वितरणको काम सम्पन्न गर्ने लक्ष्य राखेको बताइन् ।

भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई प्रक्रिया पूरा गरी भूमिको मालिक बनाइने उनको दाबी छ । “यो विषय जटिल र संवेदनशील छ, कतिपय कानुनी अड्चन पनि छन्,” उनले भनिन्, “तर हामी डे वानदेखि नै यसमा खटिएका छौँ । यसलाई कसैको चुनावी फन्डा बन्न दिने छैनौँ । सरकारले काम गरिरहेको छ, अबको केही समय धैर्य धारण गरिदिनुहोला ।” 

प्रतिक्रिया दिनुहोस्