
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा उर्बर रूपमा अगाडि बढिरहेको कम्युनिस्ट आन्दोलन अहिले कसरी धक्का खायो भनेर गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् ।
नेकपाले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले विगतको अनुभवबाट गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिएका हुन् ।
उनले भने, ‘उर्बर रुपमा अगाडि बढिरहेको कम्युनिस्ट आन्दोलन आज निकै ठुलो धक्का खानेगरी रक्षात्मक अवस्थामा कसरी आइपुग्यो ? यसबारे गम्भीर समीक्षा आवश्यकता छ । अत्यधिक मत दिँदादिँदै पनि हामीले कहाँ कमजोरी ग¥यौँ ? जहाँसम्म त्यसको निष्कर्षमा पुग्न सकिँदैन एकता सम्भव देखिँदैन ।’
४० वर्ष नेतृत्वमा रहँदा प्राप्त गरेका अनुभवबाट शान्ति प्रक्रियामा आएपछि कमजोरी भएको उनले स्वीकार गरे । रणनीतिभन्दा पनि कार्य रणनीतिमा बढी अल्झिँदा आन्दोलनले धक्का खाएको प्रचण्डले स्वीकार गरे । कम्युनिस्टहरू कार्यनीतिको चक्करमा अल्झिँदा विरोधीहरू नेपालमा कसरी कम्युनिस्टहरूलाई ध्वस्त पार्न सकिन्छ भनेर रणनीतिमा लागेको आरोप लगाए । पहिला पनि अमेरिकी साम्राज्यवादीहरूले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आउन नदिन निकै धेरै कसरत गरेको उनको आरोप छ ।
‘हामी मन्त्री, प्रधानमन्त्री बनाउने, सरकार गठन र विघटनमा लाग्यौँ । तर हाम्रा विरोधीहरू कसरी कम्युनिस्ट सिध्याउन सकिन्छ भनेर रणनीतिक रूपमा लागेका रहेछन् । त्यसकै परिणाम हो भदौ २३ र २४ को विध्वंस’, उनले भने ।















