काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको आठ वर्ष पूरा हुँदा पनि कुनै अपराधी फेला पर्न सकेका छैनन । सुधन गुरुङ गृहमन्त्री भएपछि अपराधी पत्ता लगाउछु भन्दै गठन गरेको अनुसन्धान समितिले पनि कुनै सुराक फेला नपारी काठमाडौ फर्केको छ ।

प्रहरीले कुनै सुराक फेला नपारेपछि अहिले गृहमन्त्री यो विषय सुन्नसाथ रिसाउने र झर्किने गरेका छन् । २०७५ साउन १० गते भीमदत्त नगरपालिका–२ उल्टाखामकी निर्मलाको शव उखुबारीमा फेला परेको थियो । घटनाको आठ वर्ष बितिसक्दा पनि हत्यारा पहिचान हुन नसक्दा यो सरकारमाथि पनि प्श्न उठाउन थालिएको छ ।
सुधन गुरुङ गृहमन्त्री भएपछि निर्मलाको हत्यारा पत्ता लगाउन प्रहरी प्रधान कार्यालयले पछिल्लो समय अपराध अनुसन्धान विभागका एसएसपी कृष्ण पंगेनीको नेतृत्वमा नयाँ अनुसन्धान समिति गठन गरेको थियो । समितिमा एसपी दधिराम न्यौपाने, प्रहरी महानिरीक्षकको सचिवालयका डीएसपी हरि खतिवडा, केन्द्रीय अनुसन्धान ब्युरोका इन्स्पेक्टर वीरेन्द्र बिसीलगायत १५ जना सदस्य अनुसन्धान गर्दा पनि कुनै सुराक फेला परेन ।
समितिका संयोजक एसएसपी पंगेनी नेतृत्वको टोली कञ्चनपुरस्थित महेन्द्रनगर पुगेर अनुसन्धानका विभिन्न पक्षबारे जानकारी लिएर काठमाडौं फर्किएको भएपनि ठोस परिणाम दिन सकेन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एक प्रहरी अधिकृतका अनुसार टोलीले घटनासँग सम्बन्धित विवरण तथा यसअघि भएका अनुसन्धानका विषयमा समेत अध्ययन गरेर फर्केको थियो ।
निर्मला हत्याको अनुसन्धानका लागि यसअघि पनि पटक–पटक समिति गठन भएका थिए । तर, ती समितिले हत्यारा पहिचान गर्न नसकेपछि अहिलेको समितिले विगतका अनुसन्धानबाट प्राप्त तथ्य र प्रमाणलाई पुनः विश्लेषण गर्दै नतिजामुखी अनुसन्धान अघि बढाएको प्रहरी अधिकारीहरू बताउँछन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पनि घटनाको सुरुदेखि नै अनुसन्धान गरेको थियो । जघन्य अपराधसम्बन्धी अनुसन्धान गर्ने ब्युरोको ‘१ नम्बर पिल्लर’ले निर्मला प्रकरणलाई निरन्तर अनुसन्धान गरिरहेको छ । सीआईबीको टोली घटना भएको केही समयपछि नै कञ्चनपुरमा खटिँदै आएको छ ।
प्रहरीका अनुसार यसअघि निर्मला हत्यामा संलग्न व्यक्ति पत्ता लगाउन डीएनए परीक्षणलाई मुख्य अनुसन्धान विधि बनाइएको थियो । हालसम्म १२३ जनाभन्दा बढी शंकास्पद व्यक्तिको डीएनए परीक्षण गरिएको छ । तर, घटनास्थलबाट प्राप्त नमुनासँग डीएनए नमिलेपछि अनुसन्धानले अपेक्षित नतिजा दिन सकेको छैन ।
डीएनए परीक्षणबाट मात्रै निष्कर्षमा पुग्न नसकिएपछि प्रहरीले अहिले मानव सूचना अर्थात् ‘ह्युमन इन्टेलिजेन्स’मा आधारित अनुसन्धानलाई समेत प्राथमिकता दिएको छ । यसअघि गठित विज्ञ समितिले पनि प्राविधिक पक्षबाट मात्रै अनुसन्धान अघि बढाउन कठिन हुने निष्कर्ष निकालेपछि अहिले मानव सूचना मार्फत अनुसन्धान शुरु गरेको हो । यसबाट पनि कुनै सुराक फेला पार्न सकेको छैन ।
निर्मला प्रकरणमा हालसम्म औपचारिक रूपमा नौ वटा समिति गठन भइसकेका छन् । प्रहरी प्रधान कार्यालय, सीआईबी, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय तहबाट समेत विभिन्न चरणमा अनुसन्धान टोली तथा समिति परिचालन भएका थिए ।
घटनाको २५ दिनपछि प्रहरीले दिलीपसिंह विष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । तर, २०७५ भदौ २६ गते सरकारी वकिलको कार्यालयले घटनामा उनको संलग्नता पुष्टि गर्ने आधार नदेखिएको र डीएनए नमिलेको भन्दै उनलाई छाडेपछि यो घट्ना गिजोलियो । निर्मला हत्याको अनुसन्धानमा हालसम्म आठ वटा प्रहरी कार्यालयबाट ७८ जना प्रहरी अधिकारी तथा कर्मचारी संलग्न भइसकेका छन् ।
सीआईबीबाट मात्रै ४४ जनाले यस प्रकरणको अनुसन्धान गरेका थिए । तर अहिलेसम्म कुनै परिणाम आएन । निर्मता पन्तको परिवारलाई दोखाएर संघ र प्रदेश दुवै ठाउँमा राजनीतिक गर्ने माध्यम मात्रै बनेको छ ।














