
काठमाडौं । विशेष अदालतले प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र न्यायाधीश हेमन्त रावलको इजलासले मंगलबार थापालाई घुस लिएको अभियोगमा दोषी ठहर गरेको हो ।
लागुऔषध मुद्दा मिलाइदिने बहानामा सेवाग्राहीबाट घुस लिएको अभियोगमा गत जेठ १३ गते जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत क्षेत्री लागुऔषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने र पक्राउ नगरी केस मिलाइदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस माग गरेको आरोपमा घुससहित अख्तियारले पक्राउ गरेको थियो । यस मुद्दामा उनी दोषी ठहर भएका हुन् ।














