
काठमाडौं । मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेको पाँच पहिनापछि प्रधानमन्त्री बालेन शाहले पहिलो पटक संसद्मा उभिएर सांसदका प्रश्नको सामना गर्दैछन् । लामो पर्खाइ र संसदीय रस्साकस्सीपछि प्रधानमन्त्री शाह प्रतिनिधिसभा बैठकमा सांसदका प्रश्नको जवाफ दिन तयार भएका हुन् ।
कुनै कारणले पूर्वनिर्धारित कार्यक्रम नरोकिए प्रधानमन्त्री शाहले आज दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा ११ सांसदले यसअघि नै टिपाएका लिखित प्रश्नहरूको जवाफ रोस्ट्रममा उभिएर दिने छन्। संसद् नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम हरेक महिनाको पहिलो साता हुनुपर्ने व्यवस्था छ ।
गत जेठ १८ गते संसद्को नयाँ नियमावली पारित भएको हो । नयाँ नियमावलीमा पनि पुरानै व्यवस्थाअनुसार प्रश्नोत्तरको कार्यक्रमलाई निरन्तरता दिइएको हो । सरकार गठन भएको पाँच महिनापछि सभामुखले सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गरेका थिए ।
सोहीअनुसार प्रश्नोत्तर कार्यक्रम तय भएको हो । प्रत्येक महिना हुनुपर्ने प्रश्नोत्तर पाँच महिनासम्म हुन नसकेपछि प्रतिपक्षी दलले लगातार संसद्मा प्रधानमन्त्रीलाई रुलिङ गर्न सभामुखसँग माग गर्दै आएका थिए ।














