Logo
Logo

रसुवाको टिमुरेमा भीषण बाढी, भन्सारमा ठूलो क्षति


0
Shares

काठमाडौं । रसुवाको टिमुरे भन्सार क्षेत्रमा बुधबार बिहान ठूलो बाढी आएको छ। चीनतर्फबाट एक्कासि आएको बाढीले टिमुरे आसपासको क्षेत्रमा ठूलो क्षति पुर्‍याएको प्रारम्भिक विवरण आएको छ।

भोटेकोशी नदीमा अचानक ठूलो बाढी आउँदा टिमुरे भन्सार कार्यालय  र स्याफ्रुबेसीमा ठूलो क्षति गरेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले जानकारी दिए।  

प्रारम्भिक जानकारीअनुसार बाढीले टिमुरे भन्सारका संरचनामा समेत ठूलो क्षति पुर्‍याएको छ। चीनतर्फबाट एक्कासि आएको बाढीका कारण भन्सार क्षेत्रका संरचना भत्किएको बताइएको छ।

बाढीका कारण टिमुरे भन्सारमा रहेका चीनबाट आयात गरिएका बीवाईडीका विद्युतीय सवारीसाधनमा समेत ठूलो क्षति भएको बताइएको छ। कर विवादका कारण लामो समयदेखि नाकामै रोकिएका बीवाईडीका सयौँ गाडीमध्ये केहीमा बाढीले क्षति पुर्‍याएको प्रारम्भिक जानकारी आएको छ। यद्यपि कति सवारीसाधनमा क्षति भयो भन्ने यकिन विवरण सार्वजनिक भएको छैन।

यसैबीच, भोटेकोसी नदीमा बाढीको बहाव उच्च भएपछि जिल्ला प्रशासन कार्यालय रसुवाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवन भएर बग्ने नदीका तटीय क्षेत्रमा रहेका बासिन्दालाई सुरक्षित स्थानमा बस्न प्रशासनले अनुरोध गरेको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार बिहान साढे ९ बजे सूचना जारी गर्दै भोटेकोसी नदीमा बाढी तथा पानीको बहाव उच्च रहेको जनाएको छ। प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन तथा सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्