Logo
Logo

ओलीको आग्रह- विपत्तिमा राजनीति नगरौँ


126
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा आइपरेको प्राकृतिक विपत्तिको घडीमा कसैले पनि राजनीति गर्न नहुने बताएका छन् । आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा रसुवाको बाढीपहिरो सम्बन्धी स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै उनले यस्तो बताएका हुन् ।

एमाले महासचिव शङ्कर पोखरेलले नेतृत्व गरेको टोलीले रसुवाको प्रभावित क्षेत्रको अनुगमन गरी तयार पारेको प्रतिवेदन बुझ्ने क्रममा अध्यक्ष ओलीले वर्तमान समय राष्ट्रिय शोक र पीडाको विषय भएको उल्लेख गरे । उनले यो संकटलाई साझा दायित्वका रूपमा ग्रहण गरी समाधानका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए । विपद् व्यवस्थापनमा सरकारको भूमिका र जिम्मेवारी अन्य निकायको तुलनामा बढी हुने उल्लेख गर्दै उनले राज्यकोषको परिचालन नागरिकको उद्धार, राहत र पुनःनिर्माणमा केन्द्रित गर्नुपर्ने बताए ।

खासगरी राजधानी नजिकैको प्रदेशमा घटेको यो घटनाको गहिराइ बुझ्न सहज भएको भन्दै उनले तीनै तहका सरकार (केन्द्र, प्रदेश र स्थानीय) बीच प्रभावकारी समन्वय हुनुपर्ने धारणा राखे । ओलीले राजनीतिक दल, सङ्घसंस्था, समाजसेवी र परोपकारी निकायहरूलाई समेत एकीकृत रूपमा विपद्को सामना गर्न आग्रह गरे । नेकपा (एमाले) ले विपत्तिको संवेदनशीलतालाई ध्यानमा राखेर घटनाको शुरुवाती दिन (असोज १० गते) नै सचिवालय बैठक बसी समाधानमा जुट्ने निर्णय गरेको उनले जानकारी दिए ।

उनले भने, ‘यो विपत्ति वास्तवमै राष्ट्रिय शोक र पीडाको समय हो । यस्तो बेला जनता मारमा परिरहेका छन्, त्यसैले यसमाथि कसैले पनि राजनीति गर्नु हुँदैन । यो हाम्रो साझा पीडा हो र यसको समाधान गर्ने दायित्व पनि साझा नै हो । सबैले उदारता, दृढता र संयमका साथ सहयोगको हात बढाउनु आवश्यक छ ।’

महासचिव शङ्कर पोखरेलले रसुवाको बाढीपहिरोबाट भएको क्षति र त्यहाँको बस्तुस्थितिबारे विस्तृत जानकारी गराउँदै प्रतिवेदन बुझाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्