Logo
Logo

बाढी प्रभावितको उद्धार र राहतमा जुट्न ओलीको निर्देशन


252
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्निर्माण कार्यलाई प्रभावकारी बनाउन पार्टीका सबै संयन्त्रलाई परिचालन गर्न निर्देशन दिएका छन् ।

आईतवार पार्टी केन्द्रीय कार्यालयमा महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले रसुवाको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी बुझाएको प्रतिवेदन ग्रहण गर्दै अध्यक्ष ओलीले उक्त निर्देशन दिएका हुन् । अध्यक्ष ओलीले पार्टीले खाद्यान्न, कपडा र अन्य राहत सामग्री सङ्कलन गरी प्रभावित क्षेत्रमा पठाउने कार्य जारी राखेको जानकारी दिए ।

उनले राहत वितरण टोलीलाई बिदाइ गर्ने क्रममा आफूले दिएको अभिव्यक्तिलाई केही सञ्चारमाध्यमले सन्दर्भभन्दा बाहिर लगेर भ्रामक ढङ्गले संप्रेषण गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । पार्टीले गरिरहेको मानवीय कार्य र राहत अभियानलाई ओझेलमा पारेर बदनाम गर्ने नियतले कतिपय तत्वहरू सक्रिय रहेको उनको टिप्पणी छ ।

प्राकृतिक विपत्तिको अवस्थाबारे चर्चा गर्दै अध्यक्ष ओलीले रसुवा र सिन्धुपाल्चोकको बाढी वर्षाका कारण मात्र नभई ‘ग्लेसियर’ वा हिमताल विष्फोट भएका कारण आएको हुनसक्ने प्रारम्भिक अनुमान गरे । अध्यक्ष ओलीले उद्धार र राहत कार्यमा समन्वयको अभाव देखिएको भन्दै सरकारको कार्यशैलीप्रति पनि आलोचना गरे । केही मन्त्रीहरूले पूर्वतयारी र व्यवस्थापनविना नै सुरक्षित स्थानमा रहेका मानिसहरूलाई अन्यत्र सार्दा उनीहरू थप अलपत्र परेको र पीडितहरूमा आक्रोश बढेको उनले बताए ।

विपत्तिको यस घडीमा पार्टीका नेता, कार्यकर्ता र जनप्रतिनिधिहरू आफ्नै पारिवारिक क्षतिलाई बिर्सेर पनि जनताको सेवामा लागेको भन्दै उहाँले प्रशंसा गर्नुभयो । नुवाकोट र रसुवाका पार्टी पदाधिकारी तथा स्थानीय जनप्रतिनिधिहरूका परिवारका सदस्य अझै बेपत्ता रहेको पीडादायी अवस्था सुनाउँदै उहाँले सबैलाई धैर्यताका साथ उद्धारमा लाग्न आग्रह गरे । राहत र पुनर्निर्माणका कार्यलाई व्यवस्थित गर्न अध्यक्ष ओलीले वागमती प्रदेश कमिटीका इन्चार्ज महेश बस्नेतको संयोजनमा रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लाहरूमा आवश्यक समन्वय गर्ने जिम्मेवारी तोकेका छन् ।

प्रतिक्रिया दिनुहोस्