Logo
Logo

बाढीले कुन बैंकमा कति क्षति ?


504
Shares

काठमाडौं । गत भदौ १० गते नेपाल–तिब्बत सीमा क्षेत्रको लेहेन्दे खोलामा आएको भीषण बाढीले केवल किनारका बस्ती मात्र बगाएन, यसले नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने बैंकिङ क्षेत्रमा समेत अकल्पनीय र अपूरणीय चोट पु¥याएको छ ।

त्रिशूली नदीको प्रमुख सहायक नदीमा आएको यो बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लाको जनजीवनलाई त अस्तव्यस्त बनायो नै, त्यससँगै ठूलो संख्यामा बैंकका कर्मचारीहरूको जीवन र अर्बौँको वित्तीय लगानीलाई पनि जोखिममा धकेलिदिएको छ । यो घटनाले स्पष्ट पारेको छ कि जलवायु परिवर्तनको प्रभाव अब हिमाली भेगको हिउँ पग्लिने र पर्वतारोहणमा अवरोध पुग्ने कुरामा मात्र सीमित छैन, यसले हाम्रा व्यावसायिक संरचनाहरूलाई पनि जुनसुकै बेला ध्वस्त पार्न सक्छ ।

रसुवा र नुवाकोटका विभिन्न स्थानमा सञ्चालित ११ वटा वाणिज्य बैंकका १६ वटा शाखा कार्यालय बाढीले पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । ती शाखामा कार्यरत २७ जना कर्मचारी हालसम्म बेपत्ता हुनुले बैंकिङ सुरक्षा र विपद् व्यवस्थापनमा ठूलो चुनौती खडा गरेको छ ।

बैंकिङ क्षेत्रका लागि यो विपत्ति ऐतिहासिक रूपमै सबैभन्दा पीडादायी सावित भएको छ । केवल भौतिक संरचना मात्र होइन, ठूलो संख्यामा दक्ष जनशक्ति गुमाउनु पर्दाको पीडाले यतिबेला वित्तीय क्षेत्र शोकमग्न छ । पछिल्लो विवरण अनुसार रसुवा र नुवाकोटका विभिन्न स्थानमा सञ्चालित ११ वटा वाणिज्य बैंकका १६ वटा शाखा कार्यालय बाढीले पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । ती शाखामा कार्यरत २७ जना कर्मचारी हालसम्म बेपत्ता हुनुले बैंकिङ सुरक्षा र विपद् व्यवस्थापनमा ठूलो चुनौती खडा गरेको छ ।

यसबाहेक, काठमाडौंबाट गोसाइकुण्ड भ्रमणमा गएका मुक्तिनाथ विकास बैंकका २ कर्मचारी र विभिन्न लघुवित्तमा कार्यरत ६ जना गरी ३१ जना कर्मचारी हालसम्म सम्पर्कविहीन छन् । आफ्ना सहकर्मीहरूको नाम र फोटोसहित उद्धारका लागि बैंकहरूले सामाजिक सञ्जालमार्फत गरिरहेको आह्वानले यस विपत्तिको गहिराइलाई झल्काउँछ । १२ जनाभन्दा बढी कर्मचारी घाइते हुनु र दर्जनौँ परिवार बिचल्लीमा पर्नुले बैंकिङ क्षेत्रमा एउटा ठूलो मानवीय सङ्कट पैदा गरिदिएको छ ।

वित्तीय क्षतिको पाटो हेर्ने हो भने बाढीले बैंकहरूको भौतिक र नगद संरचनामा ठूलो आक्रमण गरेको छ । बाढीले १६ वटा शाखाका भल्ट, क्यास काउन्टर र एटीएम मेसिनहरू नै बगाएको छ । सामान्यतया बैंकको ’भल्ट’ लाई सबैभन्दा सुरक्षित स्थान मानिन्छ, तर प्रकृतिको ताण्डवका अगाडि ती फलामे ढुकुटीहरूले पनि घुँडा टेके । १५ वटा शाखाको भल्टमा रहेको करिब १५ करोड २ लाख १० हजार रुपैयाँ नगद बाढीसँगै त्रिशूलीमा मिसिएको छ ।

यसैगरी, ७ वटा बैंकका एटीएम मेसिनहरू बाढीले बगाउँदा त्यहाँ लोड गरिएको १ करोड ७ लाख रुपैयाँभन्दा बढी नगदको अवस्था अज्ञात छ । समग्रमा भन्नुपर्दा, करिब १७ करोड रुपैयाँ नगद बाढीले बगाएको छ, जुन नेपाली बैंकिङ इतिहासमा प्राकृतिक विपत्तिका कारण भएको सम्भवतः सबैभन्दा ठूलो नगद नोक्सानी हो ।

भौतिक पूर्वाधारको नोक्सानीलाई हेर्दा प्रारम्भिक अनुमान अनुसार बैंकहरूको कुल ५५ करोड १६ लाख २८ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको छ । यसमध्ये सबैभन्दा ठूलो नोक्सानी कृषि विकास बैंकको त्रिशूली शाखामा देखिएको छ । आफ्नै भवनमा रहेको यो शाखा पूर्ण रूपमा ध्वस्त हुँदा करिब ५० करोड रुपैयाँको क्षति भएको अनुमान छ, जहाँ ६४ वटा व्यक्तिगत लकरहरू समेत बाढीले बगाएको छ ।

लकरमा सर्वसाधारणका गरगहना र बहुमूल्य कागजातहरू हुने भएकाले यसको सामाजिक र कानुनी असर अझै गहिरो हुने देखिन्छ । सिटिजन्स बैंक, ग्लोबल आइएमई, हिमालयन, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नबिल, एनआईसी एशिया, नेपाल इन्भेष्टमेन्ट मेगा, सानिमा, एनएमबि र प्रभु बैंकका शाखाहरूमा पनि करोडौँको क्षति भएको छ । कतिपय स्थानमा शाखाका भवन मात्र होइन, बैंकका सम्पूर्ण रेकर्ड र फर्निचरको नामनिशान समेत बाँकी छैन ।

निक्षेप र कर्जाको सुरक्षाका दृष्टिले यो घटनाले एउटा जटिल प्रश्न खडा गरिदिएको छ । बाढी प्रभावित १६ वटा शाखाहरूमा ७३ हजार २७५ वटा निक्षेप खातामा झण्डै ४ अर्ब रुपैयाँ (३ अर्ब ९८ करोड ८४ लाख) बचत रहेको थियो । यद्यपि, डिजिटल युगका कारण बैंकहरूको ’डाटा ब्याकअप’ र केन्द्रिकृत सफ्टवेयरमा सबै विवरण सुरक्षित हुने भएकाले ग्राहकको निक्षेप नै डुब्ने खतरा त रहँदैन, तर भौतिक कागजात र धितो सम्बन्धी फाइलहरू नष्ट हुँदा भविष्यमा कर्जा असुली र कानुनी प्रक्रियामा ठूलो उल्झन आउने निश्चित छ ।

कर्जातर्फ २ हजारभन्दा बढी ऋण खातामार्फत प्रवाह भएको २ अर्ब ३३ करोड १३ लाख रुपैयाँ अहिले प्रत्यक्ष जोखिममा छ । बाढीले ऋणीहरूको जायजेथा, व्यवसाय र कतिपय अवस्थामा ऋणीकै समेत ज्यान लिएको हुनाले यो कर्जा ’खराब कर्जा’ (एनपीएल) मा परिणत हुने सम्भावना प्रबल छ, जसले बैंकहरूको वासलातमा दीर्घकालीन असर पार्नेछ ।

यस विपत्तिको अर्को डरलाग्दो पक्ष भनेको जलविद्युत् क्षेत्रमा बैंकहरूले गरेको अर्बौँको लगानी हो । बाढी प्रभावित क्षेत्रमा बैंकहरूको सहवित्तीयकरणमार्फत लगानी रहेका ६७५ मेगावाट क्षमताका १३ वटा जलविद्युत् आयोजनाहरू चपेटामा परेका छन् । नेपालको ऊर्जा क्षेत्रमा गरिएको यो लगानी सुरक्षित नभएसम्म बैंकहरूको वित्तीय स्वास्थ्य पनि जोखिममुक्त रहन सक्दैन । आयोजनाहरूमा पुगेको क्षतिका कारण उत्पादन अवरुद्ध हुँदा बैंकहरूले पाउने सावाँ–ब्याजको किस्ता रोकिनेछ, जसले समग्र वित्तीय प्रणालीमा तरलता र मुनाफामा चाप सिर्जना गर्नेछ ।

बाढीको यत्रो वितण्डाका बीच पनि कतिपय बैंकहरूले वैकल्पिक माध्यमबाट सेवा सुचारु गर्नुलाई सकारात्मक मान्न सकिन्छ । विद्युत् र सञ्चार अवरुद्ध भएको समयमा सेवा रोकिए पनि पुनः सुचारु गर्ने प्रयास भइरहेका छन् । तर, यो घटनाले बैंकहरूलाई आफ्ना दुर्गम र उच्च जोखिमयुक्त क्षेत्रमा रहेका शाखाहरूको भौतिक सुरक्षा, कर्मचारीहरूको बिमा र विपद्कालीन ’बिजनेश कन्टिन्युटी प्लान’ का बारेमा पुनः सोच्न बाध्य बनाएको छ ।

यो बाढी नेपाली वित्तीय क्षेत्रका लागि एउटा गम्भीर चेतावनी बनेर आयो । साथै, गुमेको नगद र भौतिक संरचनाको क्षतिपूर्ति गर्न बैंकहरूले बिमा दाबी र पुनस्र्थापनाको प्रक्रियालाई तीव्रता दिनु आवश्यक छ । बाढीले बगाएको १७ करोड नगद र अर्बौँको पूर्वाधारको क्षतिलाई समयक्रममा पूर्ति गर्न सकिएला, तर गुमेका जीवन र यसले वित्तीय क्षेत्रमा सिर्जना गरेको मनोवैज्ञानिक त्रास मेटाउन भने निकै समय लाग्ने देखिन्छ । अबका दिनमा बैंकहरूले नाफा र विस्तारसँगै ’क्लाइमेट रिस्क’ लाई पनि आफ्नो रणनीतिमा अनिवार्य समावेश गर्नुपर्ने सन्देश यो त्रिशूलीको बाढीले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्