Logo
Logo

बाढीले देश डुब्दा अर्थमन्त्रीको भोज


0
Shares

काठमाडौं । भदौ १० गते बुधबार रसुवामा बाढी आउँदा अर्थमन्त्री स्वर्णिम वाग्ले भोलिपल्ट बिहीबार सोल्टी होटलमा भारतीय टिभी च्यानलले आयोजना गरेको एउटा कार्यक्रमको तयारीमा व्यस्त थिए । भोटेकोशीमा आएको बाढीको बितण्डाले ठूलो धनजनको क्षति भइरहँदा अर्थमन्त्री वाग्ले दिनभर सोल्टी होटलको कार्यक्रममा ‘टाइसुट’ लगाएर अंग्रेजीमा बर्बराउँदै आफ्नो विज्ञता छाट्दै थिए ।

मानौं हजारौं नेपालीको पीडामा उनले नुनचुक छर्किरहेका थिए । त्यो घटनालाई सामान्य रुपमा लिँदै उनले हामी आफैँ समस्या समाधान गर्न सक्छौं भन्दै फुर्ती लगाउँदै थिए र भन्दै थिए– विश्व बैंकले २५ अर्ब ऋण सहयोग गर्ने भयो । यो उनको संवेदनहीन अभिव्यक्ति थियो । साँच्चै उनी गम्भीर भएको भए उक्त दिनको कार्यक्रम छाडेर उनी राहत र उद्धारमा जुट्ने थिए । प्रधानमन्त्रीसँग नुवाकोट पुग्ने थिए ।

तर, दुर्भाग्य नेपाली जनता शोकमा परेको बेला उनी भोजमा सरिक भएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विपद्को घडीमा सरकारका जिम्मेवार मन्त्रीको प्राथमिकता के हो भन्ने प्रश्न उठेको छ । जब सयौँ नागरिकको जीवन भोटेकोशी नदीसँगै बगिरहेको थियो, गाउँबस्ती बगेर बगर भइरहेको थियो, त्यतिबेला उनको प्राथमिकता सरकारका एक प्रभावशाली मन्त्रीका हैसियतले उक्त कार्यक्रममा भन्दा बाढी पीडित क्षेत्रमा उद्धार र राहतमा केन्द्रीत हुनुपर्ने थियो । तर उनको व्यवहारले संकटमा परेका नागरिकप्रति राज्यको संवेदनशीलता प्रतिबिम्बित गर्छ ।

त्यसैले अर्थमन्त्री सरिक भएको कार्यक्रम र त्यहाँ गरिएको गतिविधिले नागरिकप्रति उदासीन रहेको प्रष्ट झल्किन्छ । खासगरी यस्तो बेलामा अर्थमन्त्रीले अन्र्तराष्ट्रिय सहयोगका लागि पहल गर्नुपर्नेमा उनी आफै भारतीय टेलिभिजनको औपचारिक कार्यक्रममा सहभागी भएर मानवीय संवेदनमाथि खेलवाड गरिरहेका थिए ।

नागरिकले राहतका लागि सरकारको मुख ताकिरहेका बेला सामाजिक सञ्जालमा अर्थमन्त्रीको तस्वीरमा मुस्कान देखिएपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भयो । अर्थमन्त्रीको जिम्मेवारी अर्थतन्त्रको अंकगणितमात्र मिलाउनु होइन ।

उनले त राज्यलाई संकट परेको बेला सहयोग जुटाउने र अन्र्तराष्ट्रिय समुदायलाई राहत तथा पुर्नस्थापनाका लागि आह्वान गर्नुपनि हो । विपद्को समयमा राज्यको मानवीय अनुहार पनि देखिनुपर्छ । बजेटको हिसाब मिलाउने मन्त्रालयका प्रमुखले कम्तीमा यति बुझ्नुपर्ने हो– देशको अर्थतन्त्रको घाटापछि पूर्ति गर्न सकिन्छ, तर विपद्मा गुमेको जीवन र जनताको भरोसा फर्काउन सकिँदैन ।

अझ विडम्बना, सरकारका जिम्मेवार व्यक्तिहरूले नागरिकलाई ‘धैर्य गर्नुस्’ भनिरहँदा उनीहरू स्वयं भने विपद्को गम्भीरताबाट अलग देखिन थाले भने राज्यप्रति नागरिकको आशा र भरोसा टुट्न सक्छ । यो कुरालाई अर्थमन्त्रीले मनन गरेको देखिएन । उल्टै सामाजिक सञ्जालमा उनले अब के गर्ने भनेर दर्शन छाँटेका छन् ।

राजनीतिमा आलोचना असहज हुन सक्छ, तर सार्वजनिक पदमा बसेपछि प्रश्नबाट भाग्न मिल्दैन । विपद्मा नागरिकले सरकारको भाषण होइन, संवेदना खोज्छन फोटोसेसन होइन, उपस्थिति खोज्छन भोजको तस्वीर होइन, राहतको तस्वीर खोज्छन् । राज्यका जिम्मेवार व्यक्तिको प्राथमिकतामा के रहेको छ भन्ने महत्वपूर्ण विषय हो ।

अर्थतन्त्र चलाउने जिम्मेवारी अर्थमन्त्रीकै भएपनि विपदमा परेको नागरिकलाई सरकार छ भन्ने महसुस गराउने जिम्मेवारी पनि राज्यकै हो । विपद्को समयमा संवेदनशीलता कमजोरी होइन—राज्यको चरित्र हो । र यही परीक्षामा सरकार असफल भयो भने, इतिहासले घाटा–नाफाको हिसाब होइन, कठिन समयमा सरकार जनताको साथमा थियो कि थिएन भन्ने हिसाब राख्नेछ ।

राष्ट्रिय संकटको घडीमा सम्पूर्ण राजनीतिक दलहरू एकै ठाउँमा उभिएका हुन्छन । संकटलाई समाधान गर्न सम्पूर्ण समाजको अवधारणा अनुरूप सरकार, राजनीतिक दल, नागरिक समाज र निजी क्षेत्र सबै एकीकृत रूपमा अघि बढ्नुपर्नेमा बेला अर्थमन्त्री आफै भोजमा रमाउनु उनको समवेदनाहिन चरित्र हो ।
उनको यस्तो गतिविधि बाहिरिएपछि लाज ढाक्न उनी गत शुक्रबार त्रिशूलीसम्म पुगेका थिए ।

त्यतिबेला उनले विश्व बैंकसँगको समन्वयमा करिब २५ अर्ब रुपैयाँ बराबरको आर्थिक सहायता सुनिश्चित भइसकेको र यसका अतिरिक्त चीन, भारत, जापान, एसियाली विकास बैंक (एडीबी) र रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) बाट पनि सहयोगको प्रतिबद्धता प्राप्त भएको भन्दै लाज ढाकेका थिए । अर्थमन्त्री भएदेखि नै आलोचित वाग्लेको यस्तो चरित्रले पार्टी सभापति रवि लामिछानेलाई समेत लाजमर्दो अवस्थामा पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस्