काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट पीडित तथा प्रभावित बालबालिकाको फोटो र भिडियो सामाजिक सञ्जाल एवं सञ्चार माध्यममा पोस्ट नगर्न राष्ट्रिय बाल अधिकार परिषद्ले अपिल गरेको छ । परिषद्का अधिकृत तथा सूचना अधिकारी रामबहादुर चन्दले सोमबार विज्ञप्ति जारी गर्दै सो अपिल गरेका हुन् ।

गत बुधवार आएको बाढीका कारण प्रभावित बालबालिकाको उद्धार, राहत, सहयोग तथा अन्य सेवा उपलब्ध गराएका दृश्यहरू सामाजिक सञ्जालमा राख्न नहुने विज्ञप्तिमा उल्लेख छ । फेसबुक, मेसेन्जर, युट्युब, टिकटक, इन्स्टाग्राम, मेटा, लिङ्क्डइन, थ्रेड, स्न्यापच्याट, भाइबर, ह्वाट्सएप, एक्स (ट्विटर) लगायतका कुनै पनि सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा त्यस्ता सामग्री सार्वजनिक नगर्न परिषद्ले आग्रह गरेको छ ।
बालबालिकाको गोपनीयता र मर्यादाको सम्मान तथा पालना गर्नु प्रत्येक व्यक्ति र संस्थाको कर्तव्य रहेको परिषद्ले स्पष्ट पारेको छ । कुनै पनि व्यक्ति वा संस्थाले पीडित तथा प्रभावित बालबालिकाको भिडियो तथा फोटोहरू पोस्ट नगर्न र गराउन परिषद्ले आग्रह गरेको छ ।















