
काठमाडौं । १० भदौको रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण त्रिशूली ३ ‘ए’को सुरुङभित्र फसेका ललितपुरका कविर महर्जनको शुक्रवार १० दिनपछि जीवितै उद्धार भयो ।
नेपाली सेनासहित विज्ञ र प्राविधिहरुको टोलीले महर्जनको शुक्रवार विहान सकुशल उद्धार गरी काठमाडौं ल्याएको छ । उनको अहिले सैनिक अस्पताल छाउनीको आईसीयू कक्षमा उपचारमा भइरहेको छ ।
श्रीमानलाई भेट्न सैनिक अस्पताल पगेकी उनकी श्रीमति हीराशोभा महर्जनले महर्जन सकुशल फर्किंदा परिवारमा खुसीको सीमा नभएको बताइन् । उनले श्रीमानले शुरुमा आफूलाई चिन्न नसकेको भएपनि अहिले अवस्था ठिकै रहेको बताइन् । उनले खुट्टामा थोरै चोट र शरिर समेत पहेँलो भएको कारण चिकित्सकको निगरानीमा रहेको उनले बताइन् ।
उनले भनिन्, ‘अहिले ठिकै छ, अलिअलि बोल्नुभएको छ । आउनेबेलामा त त्यस्तो बोल्न सकिराख्नुभएको थिएन । मलाई नै चिन्नुभएन शुरुमा त । अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ । खुट्टामा थोरै चोट लागेको छ । उहाँको सबै शरिर नै पहेँलो भएको छ । उहाँ फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन । उहाँ फर्किँदा हामी एकदमै खुसी छौँ । परिवारमा सबै खुसी हुनुभएको छ । नेपाल आर्मीले उहाँको जीवन बचाइदिनुभएकोमा धन्यावाद ।’














