
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले मंसिरमा १५ औँ महाधिवेशन गर्ने निर्णय गरेको छ । चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको बैठकले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।
सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले समानान्तर महाधिवेशन गर्ने निर्णय भएको जानकारी दिए ।
उनका अनुसार असोज १५ गतेदेखि वडा अधिवेशन, २० गते पालिका, २३ गते प्रदेश र निर्वाचन क्षेत्र एवम् प्रतिनिधि सभा निर्वाचन क्षेत्र, कात्तिक १५ गते जिल्ला र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने निर्णय भएको छ ।
बैठकले महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शाशंक कोइरालालाई महाधिवेशन गर्नका लागि केन्द्रीय निर्वाचन समिति, क्रियाशील सदस्य छानबिन तथा व्यवस्थापन समिति, विधान संशोधन समिति, अनुशासन समितिहरू आवश्यक परामर्श गरी गठन गर्ने जिम्मेवारी प्रदान गर्ने निर्णय पनि गरेको छ ।
नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल दलित संघ, आदिवासी जनजाति महासङ्घ, नेपाल सांस्कृतिक महासङ्घ लगायत भ्रातृ तथा शुभेच्छुक संघ÷संस्थाहरूको तदर्थ समितिहरू आवश्यक परामर्श गरी गठन गर्ने जिम्मेवारी पनि कोइरालालाई दिइएको छ ।
जिल्ला÷प्रतिनिधिसभा निर्वाचन क्षेत्र÷प्रदेश सभा निर्वाचन क्षेत्र÷पालिका र वडा अधिवेशन तयारी समिति गठन गर्नका लागि सम्बन्धित प्रदेशको केन्द्रीय सदस्यहरूको सिफारिसमा ७७ वटै जिल्लामा सचिवालयले केन्द्रीय प्रतिनिधिहरू पठाउने निर्णय गरेको छ ।
केन्द्रीय प्रतिनिधिले यथाशीघ्र जिल्लाहरूमा पुगी भदौ २५ गतेभित्र जिल्ला अधिवेशन तयारी समिति, भदौ २८ गतेभित्र संघीय निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन तयारी समिति र प्रदेशसभा निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन तयारी समिति, असोज ३ गतेभित्र पालिका अधिवेशन तयारी समिति र वडा अधिवेशन तयारी समिति गठन गर्ने निर्णय भएको छ ।
विदेश स्थित जनसम्पर्क समितिहरूको अधिवेशन तयारी समितिहरू आवश्यक परामर्श गरी सचिवालयले गठन गर्ने उनले बताए । संस्थापन पक्षले सहमतिको चाहना नराखेपछि महाधिवेशनको प्रक्रिया थालेको नेता डा. प्रकाशशरण महतले बताए ।
उनले भने, ‘उहाँहरू एकलौटी अघि बढ्नुभयो। महाधिवेशन कार्यतालिका रोक्न नमानेपछि हामी चुप लागेर बस्ने कुरा भएन। त्यसैले महाधिवेशनको कार्यतालिका ल्याएका हौँ।’
बैठकले प्रदेश र स्थानीय तहको निर्वाचनका लागि सम्बन्धित तहले उम्मेदवारको नाम सङ्कलन र उपयुक्त उम्मेदवारको छनौटका लागि आवश्यक प्रक्रिया थाल्न पनि निर्देशन दिएको छ । यो समूहको अर्को बैठक भदौ २६ गतेका लागि बोलाइएको छ ।














