Logo
Logo

टेलिभिजन प्रस्तोता खलिफासहित १२ जनालाई मृत्युदण्डको सजाय


819
Shares

काठमाडौं । इजिप्टकी टेलिभिजन प्रस्तोता सारा खलिफासहित १२ जनालाई मृत्युदण्ड दिने फैसला भएको छ । इजिप्टको अदालतले लागुऔषधसम्बन्धी कसुरमा दोषी ठहर गर्दै १२ जनालाई फाँसीको सजाय तोकेको हो ।

सरकारी स्वामित्वको समाचारपत्र अल–अहरामका अनुसार उनीहरू लागुऔषध उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ आयात गरी बिक्री गर्ने उद्देश्यले आपराधिक गिरोह सञ्चालनमा संलग्न थिए ।

गिरोहसँग अवैध हतियार र गोलीगठ्ठासमेत रहेको अदालतले ठहर गरेको छ । ३९ वर्षीया खलिफा अपराधसम्बन्धी विषयमा आधारित टेलिभिजन कार्यक्रम ‘मिसन इम्पोसिबल’ का कारण चर्चित छिन् ।

उनले आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएकी छन् । उनका वकिलले मृत्युदण्डको फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएका छन् । मुद्दामा अन्य ९ जना प्रतिवादीलाई आजीवन कारावास र ७ जनालाई सफाइ दिइएको छ ।

फैसला पहिलोपटक गत महिना घोषणा गरिएको थियो । तर मृत्युदण्डसम्बन्धी मुद्दामा इजिप्टका ग्रान्ड मुफ्तीबाट धार्मिक राय लिनुपर्ने कानुनी व्यवस्था भएकाले अदालतले उक्त राय प्राप्त गरेपछि मात्रै फैसला औपचारिक रूपमा पुष्टि गरेको हो ।

प्रतिक्रिया दिनुहोस्