Logo
Logo

बाढी पीडितमाथि खनिए रास्वपा कार्यकर्ता, महिलामाथि सुन्नै नसक्ने गाली ! (भिडियोसहित)


441
Shares

काठमाडौं । रास्वपाका अराजक कार्यकर्ताबाट जनता मात्रै दिक्क भएका छैनन्, अहिले त आफ्नै पार्टीको नेतृत्व पनि दिक्क हुन थालेको छ । सामाजिक सञ्जालमा आफ्नै कार्यकर्ताले देखाइरहेको गालीगलौज, छाडापन र अराजक शैली यति हदसम्म पुगेको छ कि त्यसको बचाउ गर्नुभन्दा रोक्नुपर्ने अवस्था स्वयं रास्वपा नेतृत्वसामू आएको छ ।

भोटेकोशी बाढीले देशमा महाविपत्ति ल्यायो । चारैतिर चीत्कार छ, आँसु छ, छटपटी छ र शोक छ । कसैको घर छैन, कसैको परिवार छैन, कसैको भविष्य छैन । यस्तो बेला सामान्यतः मान्छेमा मान्छेप्रतिको संवेदना अझ गहिरो हुनुपर्ने हो, दुःखमा एकअर्काको हात समाउनुपर्ने हो । तर, यही महाविपत्तिको बीचमा हाम्रो समाजको एउटा अर्को डरलाग्दो अनुहार पनि देखिएको छ– त्यो हो साइबर बुलिङ ।

एउटी महिला काखमा बच्चा च्यापेर, आँखामा आँसु लिएर आफ्नो श्रीमान् खोजिदिन सरकारसँग हारगुहार गरिरहेकी छिन् । तर रास्वपाका कार्यकर्ता भने ती महिलामाथि सुन्नै नसकिने र पढ्नै नसकिने शब्द प्रयोग गरेर गालीगलौज गरिरहेका छन् ।

यस्तो बेला नागरिकले सरकारलाई गाली ग¥यो भने त्यो गालीभित्रको पीडा बुझ्न जरुरी हुन्छ । किनकि, आफ्नो आँखैअगाडि संसार उजाडिएको मानिसले शब्द नापेर बोल्छ भन्ने हुँदैन । उसले आक्रोश पोख्छ, चिच्याउँछ, कराउँछ र सरकारलाई गाली गर्न पछि सक्छन् । त्यो गाली सरकारप्रतिको घृणाभन्दा बढी, आफ्नो मान्छे फर्कियोस् भन्ने अन्तिम आशाको आवाज हुन सक्छ ।

तर विडम्बना हेर्नुस् त, सत्तारुढ दल रास्वपाका कार्यकर्ताको शैली । पीडामाथि सहानुभूति देखाउनुको सट्टा पीडितकै चरित्रहत्या गर्न तल्लीन छन् । सरकारलाई प्रश्न गर्नेलाई सम्झाउनुको सट्टा उनीहरूलाई अपराधीझैँ प्रस्तुत गरिरहेका छन्, जसको चौतर्फी विरोध भइरहेको छ ।

रास्वपाको राजनीति आखिर के भन्दै जन्मिएको थियो ? पुराना दलले जनताको आवाज सुनेनन् भनेर, सत्ता र जनताबीचको दूरी बढ्यो भनेर, प्रश्न गर्ने नागरिकलाई हेप्ने राजनीतिक संस्कार गलत भयो भनेर र नेताले जनतालाई जवाफ दिनुपर्छ भनेर । अर्थात्, रास्वपाले आफूलाई पुरानो राजनीतिक संस्कारको विकल्प भनेर उभ्याएको थियो । तर आज आफ्नै केही समर्थकको व्यवहार हेर्दा प्रश्न उठ्छ– सत्ता फेरियो कि राजनीतिक संस्कार पनि फेरियो ?

कुनै एक समय तत्कालीन माओवादीका कार्यकर्ताको रगरग थियो । जतिबेला माओवादी जंगलबाट आएर देशको सबैभन्दा ठूलो पार्टी बनेको थियो, त्यतिबेला उनीहरूविरुद्ध कसैले बोल्ने हुँदैनथ्यो । पार्टी र नेतृत्वमाथि प्रश्न उठाउनै हुँदैनथ्यो, वाइसीएलले कुटिहाल्थ्यो, उस्तै परे ज्यानै समेत लिन्थ्यो । वाइसीएल भन्नसाथ गाउँगाउँमा थुरथुर हुन्थ्यो ।

कुनै बेला तरुण दलको रगरग पनि त्यस्तै थियो, जसलाई गुण्डाहरुकै संगठन भनेर चिनिन्थ्यो । लागुऔषधका कारोबारीदेखि आपराधिक पृष्ठभूमिका धेरै व्यक्ति तरुण दलका नेता थिए । कांग्रेसले पनि तरुण दललाई धम्क्याउने, थर्काउने र तर्साउने साधनको रूपमा प्रयोग गर्दै आएको थियो ।

त्यसपछि एमाले कार्यकर्ता पनि वाइसीएल र तरुण दलभन्दा कम देखिएनन् । विरोधी र आलोचकमाथि उनीहरू अरिंगालजस्तो खनिन्थे । हुन त एमाले नेतृत्वबाटै ‘अरिंगाल बन्नु’ भन्ने आदेश नै आएको थियो । वाइसीएल होस्, तरुण दल होस् वा एमालेका कार्यकर्ता, उनीहरूको यो अराजक शैली उनीहरू सत्ता र शक्तिमा भएको बेलाकै उपज थियो । र, यही शैलीले आज उनीहरूलाई कुन अवस्थामा पु¥याएको छ भन्ने प्रस्टै छ ।

तर, यी पुराना दलका कार्यकर्ताभन्दा पनि अहिले अझ उग्र बनेका छन् रास्वपाका कार्यकर्ता । नहुन् पनि कसरी ! सरकार र शक्तिमा उनीहरुकै पार्टी छ, त्यो पनि झण्डै दुईतिहाइ बहुमतसहित । हिजो पुराना दलका कार्यकर्ताले आफ्ना नेताको बचाउ गर्न जे पनि गर्छन् भनेर आलोचना गर्नेहरू आज आफैँ त्यही बाटोमा हिँड्न थाले भने फरक के रह्यो ?

सरकारको आलोचना गर्ने नागरिकलाई ‘विरोधी’, ‘शत्रु’, ‘देशद्रोही’ वा कुनै राजनीतिक कित्ताको मानिस भनेर हेर्ने बानी पुराना दलको कमजोरी थियो । तर, त्यही रोग नयाँ दलका समर्थकमा पनि सरेको छ । अझ डरलाग्दो कुरा त यो अराजकता त्यतिबेला देखिएको छ, जतिबेला देश शोकमा डुबेको छ ।

कुनै राजनीतिक बहस भइरहेको छैन, कुनै चुनावी प्रतिस्पर्धा छैन । यहाँ त मानिस आफ्नो हराएको श्रीमान् खोजिरहेको छ । एउटी महिला काखमा बच्चा च्यापेर आफ्नो मान्छे खोजिदिन सरकारसँग हारगुहार गरिरहेकी छिन् । उनको स्वरमा आक्रोश छ भने त्यो आक्रोशको पछाडि कति ठूलो त्रास होला ? भोलि कहाँ जाने ? बच्चालाई कसरी पाल्ने ? श्रीमान् जीवित छन् कि छैनन् ? कतै लास समेत नभेटिने हो कि भन्ने चिन्ता छ । त्यही महिलाको भिडियोमा बसेर हाँस्ने, गाली गर्ने, व्यङ्ग्य गर्ने र उनको पीडामाथि प्रश्न उठाउने कस्तो संस्कार हो यो ?

र, यही कुरा रास्वपाकै केही जिम्मेवार नेताहरूले पनि सार्वजनिक रूपमा भन्नुपरेको छ । रञ्जु दर्शनाले पीडित महिलाको आक्रोशलाई मानवीय संवेदनाबाट बुझ्न आग्रह गर्नुपरेको छ । निशा डाँगीले पनि ‘कसैको संसार भत्किँदा हामीलाई व्यङ्ग्य गर्न किन यति सजिलो हुन्छ ?’ भनेर प्रश्न गर्नुपरेको छ । प्रधानमन्त्री बालेन शाह स्वयंले पीडितको आक्रोश स्वाभाविक भएको भन्दै उनीहरूमाथि अनावश्यक टिप्पणी गर्नेहरूलाई कारबाही गर्ने चेतावनी दिनुपरेको छ ।

सरकार र सरकारका समर्थक ‘हामीमाथि आलोचना भयो’ भनेर रिसाउने होइन, हामी कहाँ चुक्यो भनेर समीक्षा गर्नुपर्छ । राजनीतिक दलका कार्यकर्ता हुनु भनेको आफ्नो नेताको हरेक गल्ती ढाकछोप गर्नु होइन । सरकारको बचाउ गर्नु भनेको नागरिकको मुख थुन्नु होइन । आफ्नो पार्टीप्रति समर्थन हुनु भनेको अरूको दुःखमाथि संवेदनहीन हुने लाइसेन्स होइन ।

बाढीले घर बगाउँदा नागरिकको पार्टी सोध्दैन । पहिरोले मान्छे पुर्दा उसको विचारधारा सोध्दैन । नदीले शव बगाउँदा उसको भोट कसलाई थियो भनेर सोध्दैन । तर हामी सामाजिक सञ्जालमा बसेर पीडितको राजनीतिक पहिचान खोजिरहेका छौँ । योभन्दा ठूलो राजनीतिक पतन अरू के हुन सक्छ ?

रास्वपाको नेतृत्वले यहाँ एउटा कुरा बुझ्नुपर्छ– आफ्ना समर्थकको अराजकतालाई उनीहरूको व्यक्तिगत कमजोरी मात्रै भनेर पन्छिन मिल्दैन । कार्यकर्ताको व्यवहारले अन्ततः नेतृत्वको राजनीतिक संस्कार पनि प्रतिबिम्बित गर्छ ।

प्रधानमन्त्रीले कारबाहीको चेतावनी दिएका छन्, त्यो राम्रो कुरा हो । तर चेतावनीभन्दा ठूलो कुरा कारबाही व्यवहारमै देखिनु हो । रास्वपाले आफ्ना कार्यकर्तालाई एउटा कुरा बुझाउनैपर्छ– सरकारको आलोचना सुन्न नसक्ने कार्यकर्ता लोकतन्त्रवादी कार्यकर्ता हुन सक्दैन ।

सरकारको आलोचना गर्ने नागरिक गलत हुन सक्छ, उसको भाषा गलत हुन सक्छ, उसको आरोप पनि गलत हुन सक्छ । तर त्यसको उत्तर तथ्यले दिनुपर्छ, गालीले होइन । किनकि, नयाँ राजनीति पुराना दललाई गाली गरेर मात्रै हुँदैन । नयाँ राजनीति त पीडितको आवाज सुन्न सक्ने संस्कारले बन्छ । नागरिकले एउटा मात्रै कुरा हेर्छ– संकटमा तपाईं उसको साथमा उभिनुभयो कि उसको घाउमाथि उभिएर आफ्नो राजनीति गर्नुभयो ?

सरकारलाई प्रश्न गर्ने नागरिकलाई शत्रु नबनाऔँ । आफ्ना कार्यकर्ताको अराजकतालाई राजनीतिक निष्ठाको नाममा संरक्षण नगरौँ । र, पीडितको आँसुलाई पार्टीको झण्डाभन्दा तल नझारौँ । भोटेकोशीले बगाएको भौतिक वस्तु त भोलि फर्कीएला, तर जनताको भरोसा बग्यो भने त्यो फर्काउन मुस्किल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्