Logo
Logo

‘प्रहरी कुट्ने’ अनेरास्ववियु नेता जोशीलाई फेरि लाग्यो कुटपिटको आरोप, प्रहरीले बेवास्ता गरेको गुनासो


0
Shares

काठमाडौं । अमृत साइन्स क्याम्पस (अस्कल) मा अध्ययनरत विद्यार्थी प्रवीन सुवेदीमाथि क्याम्पस हाताभित्रै कुटपिट भएको भएको छ । एमआईटी दोस्रो सेमेस्टरमा अध्ययनरत सुबेदीलाई एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका उपमहासचिव कमल जोशी, नवीन जैशी लगायतको समूहले जबर्जस्ती होस्टेलबाट क्याम्पस ग्राउन्डमा लगेर कुटपिट गरेका हुन् ।

डिजिटल मार्केटिङ विषयको अध्यापनसँग जोडिएको विषयलाई लिएर सुवेदीमाथि कुटपिट भएको हो । उनका अनुसार जोशीलाई उक्त विषय पढाउन नदिन करिब ४० जना विद्यार्थीले सामूहिक रूपमा विरोध जनाएका थिए । सोही विषयलाई लिएर भदौ १९ गते राति करिब ८ः ३० बजेको समयमा आफुमाथि कुटपिट तथा अपहरणको प्रयास भएको सुवेदीले दृष्टि न्यूजलाई बताए ।

कुटपिट गर्दै जोशीलाई नै अध्यापन गराउनुपर्ने भन्दै आफुलाई दबाबमूलक हस्ताक्षर गराउन खोजिएको समेत उनले बताए ।
हस्ताक्षर गर्न अस्वीकार गरेपछि आफुलाई भविष्यमा क्याम्पसमा टेक्न नदिने र अन्य विद्यार्थीहरूलाई समेत कुट्ने धम्की दिएको सुवेदीको आरोप छ ।

पीडित सुबेदीले क्याम्पस प्रशासन र होस्टेल व्यवस्थापनबाट समेत आवश्यक सहयोग नपाएको आफु मानसिक रुपमा विक्षिप्त रहेको गुनासो गरेका छन् । क्याम्पस प्रमुख होम बानियाँ र शिक्षक लालबहादुर कोइराला समेत विपक्षी पक्षको बचाउमा लागेको उनको आरोप छ । यद्यपि, यस विषयमा क्याम्पस प्रशासनको आधिकारिक प्रतिक्रिया आउन भने बाँकी छ ।

उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषी व्यक्तिहरूलाई कानुन बमोजिम कडा कारबाही गर्न र क्याम्पस परिसरभित्र तथा बाहिर आफ्नो सुरक्षा सुनिश्चित गरिदिन माग गर्दै सुवेदीले सोह्रखुट्टे प्रहरीमा उजुरी दिएका छन् । तर, प्रहरीले समेत बेवास्ता गरेको उनको आरोप छ । जोशीले यसअघि पनि ठमेलमा ड्युटीमा खटिएका प्रहरी जवान र हवल्दारलाई कुटपिट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्