काठमाडौं । अमेरिका र इरानबीच पानीजहाजलाई लक्षित गरी भएका पारस्परिक आक्रमणपछि मध्यपूर्वबाट तेल आपूर्तिमा लामो समय अवरोध हुन सक्ने चिन्तासँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ ।

सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९६.८० सेन्ट पुगेको छ भने अमेरिकी पश्चिम टेक्सास इन्टरमिडिएटको मूल्य ९२.१४ सेन्ट पुगेको छ । अघिल्लो साता ब्रेन्टको मूल्य ७.८ प्रतिशत र पश्चिम टेक्सास इन्टरमिडिएटको मूल्य करिब १० प्रतिशत बढेको थियो ।
अमेरिकी सेनाले शनिबार इरानका तीनवटा तेल ट्याङ्करमा आक्रमण गरेको थियो । त्यसको जवाफमा इरानी रिभोलुसनरी गार्डले होर्मुज हुँदै आवतजावत गरिरहेका तीन तेल ट्याङ्करसहित अन्य अमेरिकी पानीजहाजलाई लक्षित गरेको जनाएको छ ।
होर्मुज जलडमरूमध्य हुँदै विश्वको करिब पाँच भागको एक भाग तेल आपूर्ति हुने भएकाले पछिल्लो तनावले विश्व बजारमा आपूर्ति प्रभावित हुने चिन्ता बढाएको छ । पछिल्ला १० दिनमा दैनिक औसत १० वटा मात्र व्यापारिक पानीजहाज उक्त मार्गबाट गुज्रिएको तथ्याङ्कले देखाएको छ ।
इरानले आगामी दिनमा होर्मुज जलडमरूमध्यबाहिर प्रतिबन्धित क्षेत्र घोषणा गर्ने जनाएको छ । यसैबीच तेल निर्यातकर्ता राष्ट्रहरूको समूह ओपेक प्लसले अक्टोबरका लागि आफ्नो उत्पादन नीति यथावत् राखेको छ ।
विश्लेषकहरूले अमेरिका–इरान तनाव लामो समय कायम रहे मध्यपूर्वको तेल आपूर्ति पूर्ण रूपमा सामान्य हुन ढिलाइ हुने र सन् २०२६ को अन्त्यसम्म निर्यातमा अवरोध कायम रहन सक्ने बताएका छन् । उनीहरूका अनुसार युद्धअघिको आपूर्ति स्तरमा फर्किन सन् २०२७ को पहिलो वा दोस्रो त्रैमासिकसम्म लाग्न सक्ने अनुमान छ ।















