Logo
Logo

एक वर्षमा उल्टियो खेलः एकैदिन भागेका दुई नेता को कहाँ छन् ?


567
Shares

एक वर्ष अघि एकैदिन दुई नेता भागे । एक जना प्रधानमन्त्रीको कुर्सीबाट, अर्का जेलको कोठाबाट । अहिले त्यो दिन भागेका दुईमध्ये आज को कहाँ छन् रु एक वर्षअघि सत्ता गुमाएर बाहिरिएका केपी शर्मा ओली आज संसद्बाहिर छन् । हिरासतबाट भागेका रवि लामिछाने आज संसद्को रोस्ट्रममा छन् । त्यो पनि सबैभन्दा ठूलो दलको हैसियतको रूपमा । 

गत वर्षको भदौ २४ गते नेपालमा आन्दोलन मात्र भएको थिएन । एउटा पुस्ताको विद्रोह थियो । तत्कालीन प्रधानमन्त्री ओलीसँग शक्ति थियो, सुरक्षा संयन्त्र थियो, सिङ्गो राज्य थियो । तर सडकमा उत्रिएको पुस्तासँग एउटा यस्तो हतियार थियो, जसका अगाडि राज्यशक्ति पनि कमजोर देखियो, त्यो हो– आक्रोश । त्यही आक्रोशको आँधीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारबाट हेलिकोप्टरमा भाग्न बाध्य बनायो । 

त्यही दिन नख्खु कारागारमा रहेका रवि लामिछाने पनि आन्दोलनको उथलपुथलबीच बाहिरिए । लामिछानेलाई निकाल्न रास्वपाकै नेताहरू समेत नख्खु जेलमा पुगेका थिए । आन्दोलनको हुलमुलमा लामिछानेले मौकामा चौका हाने । कुनै फिल्मको हिरोजस्तो गरी उनी हात हल्लाउँदै बाहिरिए ।

त्यो दिन एक जना सत्तासंकटबाट बाहिरिए, अर्का हिरासतको सङ्कटबाट । त्यसबेला ओलीसँग प्रधानमन्त्रीको शक्ति थियो, रविसँग कानुनी चुनौती । ओली राज्यको नेतृत्व गरिरहेका थिए, रवि आफैँ राज्यको हिरासतमा थिए । सत्तामा रहेका नेता सत्ता जोगाउन असफल भए, तर सत्ताविहीन नेता भने संकटपछि राजनीतिक शक्ति बटुल्न सफल भए ।

भदौ २४ पछि ओलीको राजनीतिक यात्रा ओरालो लाग्यो । ओली नेतृत्वको सरकार ढल्यो । संसद् विघटन भयो । त्यसको छ महिनापछि निर्वाचन भयो, तर ओलीले जित्न सकेनन् । झापा ५ मा ओलीको दशकौँको साम्राज्य ढल्यो । तर, ओली राजनीतिक पतनको समीक्षा गर्नुको सट्टा ‘जेनजी’ आन्दोलनमाथि नै प्रश्न उठाइरहे । जेनजी विद्रोहलाई विदेशी षड्यन्त्र र बाह्य शक्तिको चलखेल भएको बारम्बार दोहो¥याइरहे ।

सत्ताबाट सडकमा पुग्दा पनि ओलीको अहङ्कार कहिल्यै ढालेन । आफ्नो साम्राज्य नै ढल्दा समेत उनले आत्मसमीक्षा गरेनन् । त्यसैले आज उनी राजनीतिबाटै किनाराकृत हुँदै गएका छन् । 

उता रवि लामिछानेको राजनीतिक यात्रा भने अर्कै दिशामा मोडियो । ‘जेनजी’ आन्दोलनले उठाएका सुशासन, पारदर्शिता, भ्रष्टाचारविरोधी अडान र व्यवस्थागत परिवर्तनका मुद्दालाई रास्वपाले आफ्नो राजनीतिक एजेन्डाको केन्द्रमा राख्यो । पार्टी युवाहरूको आइकन बालेन शाहलाई भित्र्याउन सफल भयो । त्यसपछि फागुन २१ मा भएको निर्वाचनमा रास्वपाले झण्डै दुई तिहाइ बहुमत ल्यायो । 

आज अवस्था यस्तो छ– हिजो नख्खु कारागारबाट भागेका रवि लामिछाने आज संसद्को रोस्ट्रममा उभिएका छन्, त्यो पनि सबैभन्दा ठूलो दलको सभापतिको रूपमा। उता ओली भने अब संसद् छिर्नै नपाउने हुन् कि भन्ने संशय पैदा भएको  छ । अझ संयोग कस्तो छ भने एक वर्षअघि जुन दिन उनी कारागारबाट बाहिरिएका थिए, त्यही दिनको वार्षिकीमा उनी देशको सार्वभौम संसद्को रोस्ट्रममा उभिएर देशवासीलाई सम्बोधन गरिरहेका छन् ।

राजनीतिको खेल पनि कस्तो । हिजो हिरासतको ढोका खुलेको थियो, आज संसद्को ढोका खुलेको छ  । हिजो रवि कसरी बाहिरिए भन्ने प्रश्न थियो । आज रवि बाहिरिएपछि के परिवर्तन भयो भन्ने छ । 

तर यहीँबाट रविमाथि पनि अर्को गम्भीर प्रश्न उठ्छ । नख्खुबाट बाहिरिएको घटनामाथि उठेका कानुनी र नैतिक प्रश्न अझै उस्तै छन् । राजनीतिक सफलता प्राप्त हुँदैमा विगतका प्रश्नहरू मेटिँदैनन् । संसद्को रोस्ट्रमले जनमतको शक्ति देखाउन त सक्छ, तर त्यसले कानुनी प्रश्नको उत्तर दिन सक्दैन ।

जनताको मतले सत्ता त देला, तर इतिहासको प्रश्नबाट उन्मुक्ति भने दिन सक्दैन । त्यसैले भदौ २४ केवल ओलीको पतन र रविको उदयको कथा मात्र होइन, यो नेपाली राजनीतिका लागि एउटा ठूलो परीक्षण पनि हो । किनकि सङ्कटबाट उम्कनु एउटा कुरा हो, तर सङ्कटपछि आफूलाई प्रमाणित गर्नु अर्कै कुरा ।

सङ्कटपछि ओलीले आफ्नो पतनको कारण बाहिर खोजे भने रविले आफ्नो राजनीतिक भविष्य नयाँ पुस्ताको असन्तुष्टिसँग जोड्ने प्रयास गरे । एकजनाले आन्दोलनलाई षड्यन्त्र देखे, अर्काले त्यही आन्दोलनको भावनालाई राजनीतिक एजेन्डा बनाए ।

बाँकी भिडियोमा

प्रतिक्रिया दिनुहोस्