Logo
Logo

एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, बादलले छुट्टै प्रतिवेदन पेस गर्ने


315
Shares

काठमाडौं । नेकपा एमालेको पुनर्गठन कार्यदलको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा बस्ने तय भएको छ । गत जेठ १० गते बसेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा पार्टी पुनर्गठनका लागि सुझाव संकलन तथा निर्वाचनको समीक्षा गर्न कार्यदल गठन गरेको थियो । कार्यदलले तल्ला तहबाट प्राप्त सुझावका आधारमा प्रतिवेदन तयार गरिसकेको छ ।

The current image has no alternative text. The file name is: badal-thapa.jpg

पार्टी महासचिव शङ्कर पोखरेलले कार्यदलको प्रतिवेदनको मस्यौदा तयार पारे पनि यसअघि बैठक बस्न सकेको थिएन । कार्यदलको समग्र प्रतिवेदन महासचिव पोखरेलले तयार पारेका थिए र उक्त प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइसकिएको थियो ।

तर, कार्यदलका संयोजक बादलले आजको बैठकमा छुट्टै प्रतिवेदन पेस गर्ने भएका छन् । बादलले तयार पारेको प्रतिवेदनमा कार्यदलको प्रतिवेदन निर्वाचन समीक्षामा केन्द्रित हुनुपर्नेमा त्यसको सट्टा अध्यक्षलाई हटाउने आधार तयार पार्ने प्रयास गरिएको उल्लेख गरेका छन् । कार्यदल गठन भएदेखि नै ‘पुनर्गठन’ भन्नाले अध्यक्षलाई पदबाट हटाउने भन्ने चर्चा, परिचर्चा र प्रचार व्यापक भएको भन्दै यसबाट पार्टी पङ्क्ति र जनमानसमा भ्रम सिर्जना भएको पनि बादलले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।

बादलले ओली नेतृत्वको बचाउ गर्दै अहिलेको राजनीतिक परिस्थिति विगतको भन्दा फरक रहेको र नेतृत्वलाई विस्थापन गर्नुपर्ने आधार नरहेको दाबी गरेका छन् । बैठकमा पार्टी अध्यक्ष ओली भने सहभागी हुने छैनन् । 

बादलले पार्टीको मुख्य नेतृत्वले प्रतिक्रियावादी वा विदेशी शक्तिसामु घुँडा टेकेको, अनुचित वा गलत साँठगाँठ गरेको, पार्टी महाधिवेशनको भावना र मर्मविपरीत काम गरेको, पार्टी सञ्चालन गर्न नसकेको वा पार्टीको आधारभूत हित र चरित्र जोगाउन नसकेको भन्ने आधार नदेखिएको आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन ।

प्रतिक्रिया दिनुहोस्