काठमाडौं । नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले सङ्घीय सरकारले सबै अधिकार आफैँसँग राखेर प्रदेश सरकारलाई अधिकारविहीन बनाएको आरोप लगाएका छन् ।

राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै सांसद मिश्रले प्रदेश र स्थानीय तहले आफ्नो अधिकारअनुसार गरिरहेको काममा समेत सङ्घीय सरकारले हस्तक्षेप गरिरहेको आरोप लगाएका हुन् । उनले सङ्घीयताको आवश्यकतामाथि बहस गर्नुभन्दा संविधानले दिएको अधिकारअनुसार प्रदेश र स्थानीय तहलाई प्रभावकारी रूपमा काम गर्ने वातावरण बनाउनेतिर केन्द्रित हुनुपर्ने बताए ।
सांसद मिश्रले सङ्घीय सरकारले प्रदेश र स्थानीय तहको अधिकारमा कुनै पनि बहानामा हस्तक्षेप गर्न नहुने व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए । उनले प्रदेशले काम गरेन भन्ने भाष्य निर्माण गर्नुअघि प्रदेशले संविधानले तोकेको र परिस्थितिअनुसार आवश्यक अधिकार पाए कि पाएनन् भनेर हेर्नुपर्ने बताए ।
उनले भने, “सङ्घीयतालाई चाहिन्छ कि चाहिँदैन भन्ने बहसमा होइन, अब सङ्घीयतालाई जनताको जीवनमा अनुभूति हुने गरी प्रभावकारी कसरी बनाउने भन्नेतिर केन्द्रित हुनुपर्यो। सङ्घ, प्रदेश र स्थानीय तहको अधिकार बाँडफाँडमा लन्ठ्याङ्गो छ । यो सङ्घीय सरकारले अरू सरकारले पाएको अधिकारमा कुनै बहानामा पनि हस्तक्षेप नगरोस्। कमसेकम त्यो हस्तक्षेप हुन नदिनेतर्फ हामी लाग्नुपर्यो । हामीले सरकारलाई घचघच्याउनुपर्छ।कस्तो गरिदिएको छ भने वनको के अधिकार गाउँपालिकाको हो, के अधिकार प्रदेशको होरु अझ त्यसमा प्रदेशलाई पनि काठ बेच्ने बेला यहाँबाट अङ्कुश रहन्छ । जम्मै कुराहरू अलि९अलि बुझिएजस्तो गर्छु । अब सङ्घले सबै अधिकार आफूसँग राखेर प्रदेशलाई अधिकारविहीन बनाएको छ। वास्तवमा प्रदेशले काम गरेन भन्नुभन्दा पनि प्रदेशले आफूले पाउनुपर्ने अधिकार संविधानले तोकेको र अहिलेको परिस्थितिले सिर्जना गरेका कामहरू गर्न पायो कि पाएन, हामीले त्यतापट्टि पनि जानुपर्ने आवश्यक छ । अब प्रदेशले आवश्यक कानुन पनि पाएको छैन । कर्मचारी पनि आवश्यक पाएको छैन । बजेट र प्रशासनिक अधिकार पनि दिनुपर्ने हुन्छ प्रदेशलाई । अधिकार नदिएर प्रदेश असफल भयो भन्ने भाष्य निर्माण भएको छ। अरू प्रदेशले अधिकारको कुरा नै गर्दैन । मधेस बोल्दा बोल्दा, कराउँदा कराउँदा थाकिसक्यो । वित्तीय सङ्घीयतालाई प्रदेश र स्थानीय तहलाई निश्चित किसिमका कर उठाउने, निश्चित किसिमका व्यवस्था गर्नेतिर जानुपर्छ ।”















