काठमाडौं। मिलेनियम च्यालेन्ज सम्झौताअन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) ले नेपाल-भारत सीमासम्म जोडिने सीमापार विद्युत् प्रसारण लाइनको नेपालतर्फको १८ किलोमिटर खण्ड निर्माण सम्पन्न गरेको छ ।

न्यू बुटवलस्थित ४०० केभी क्षमताको सबस्टेसनदेखि नेपाल-भारत सीमासम्मको उक्त खण्ड निर्धारित समयमै निर्माण सम्पन्न गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आग्रहअनुसार निर्माण कार्यलाई तीव्रता दिइएको एमसीए-नेपालले जनाएको छ ।
निर्माण सम्पन्न भएपछि नेपालतर्फको सीमापार प्रसारण लाइनअन्तर्गत एमसिए-नेपालले गर्नुपर्ने मुख्य निर्माण कार्य पूरा भएको छ । अब नेपाल-भारत सीमापार विद्युत् प्रवाहका लागि आवश्यक स्वीकृति तथा अन्य बाँकी काम अघि बढाइने बताइएको छ ।
कार्यक्रममा अर्थ मन्त्रालयका सचिव तथा एमसिए-नेपाल सञ्चालक समितिका अध्यक्ष घनश्याम उपाध्यायले प्रसारण लाइन निर्माण सम्पन्न हुनु नेपालको विद्युत् पूर्वाधार सुदृढीकरण र सीमापार ऊर्जा सहकार्य विस्तारका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका थिए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुनिल पौडेल र नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पनि समयमै निर्माण सम्पन्न भएकोमा एमसिए-नेपाललाई बधाई दिएका थिए । एमसीए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले सरकारको आग्रहअनुसार आवश्यक स्रोतसाधन, निर्माण व्यवसायी र साझेदारलाई परिचालन गरी छोटो समयमै निर्माण सम्पन्न गरिएको बताएका थिए ।
एमसीए नेपालको विद्युत् प्रसारण आयोजनाअन्तर्गत कुल ३१५ किलोमिटर लामो उच्च क्षमताको प्रसारण लाइन र तीनवटा सबस्टेसन निर्माण गर्ने योजना रहेको छ । आयोजनाले नेपालको विद्युत् आपूर्ति तथा प्रसारण प्रणाली सुधार, ऊर्जा सुरक्षा, भविष्यमा बढ्ने विद्युत् उत्पादन र सीमापार विद्युत् व्यापारलाई सहयोग गर्ने लक्ष्य राखेको छ ।















