काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सार्वजनिक खरिदमा प्रयोग हुँदै आएको विद्युतीय खरिद प्रणाली (ई-जिपी) साइबर सुरक्षा जोखिम देखाउँदै अनिश्चितकालका लागि बन्द गरिएको विषय गम्भीर र आपत्तिजनक भएको बताएका छन् ।

घिसिङले भदौ, असोज र कात्तिक महिना नयाँ ठेक्का आह्वान तथा बजेट कार्यान्वयनलाई गति दिने महत्त्वपूर्ण समय भएकाले यही बेला ई-जिपी बन्द हुँदा सङ्घ, प्रदेश र स्थानीय तहका सयौँ सार्वजनिक खरिद तथा विकास निर्माणका काम प्रभावित हुने बताएका छन् ।
उनका अनुसार प्रणाली बन्द भएपछि बोलपत्र आह्वान, खोल्ने, प्रस्ताव मूल्याङ्कन गर्ने तथा विभिन्न चरणका समयसीमा व्यवस्थापन गर्न कठिनाइ हुने मात्र नभई सार्वजनिक खरिदमा मिलेमतो, अस्वस्थ प्रतिस्पर्धा, दबाब, धम्की र गुन्डागर्दीजस्ता पुराना विकृति पुनः बढ्ने जोखिम छ ।
लामो समयसम्म ई-जिपी प्रणाली अवरुद्ध हुँदा हजारौँ निर्माण व्यवसायी, आपूर्तिकर्ता तथा परामर्शदाता प्रत्यक्ष प्रभावित भइरहेको घिसिङको भनाइ छ । उनले साइबर सुरक्षा समस्या समाधान गर्ने नाममा प्रणाली नै अनिश्चितकाल बन्द गर्नुको सट्टा जोखिमको तत्काल पहिचान, नियन्त्रण तथा प्राविधिक समाधान गरी सुरक्षित रूपमा सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् ।
डिजिटल प्रणालीमा समस्या आउन सक्ने भए पनि त्यसको समाधान प्रणाली बन्द गर्नु मात्र नभएको उल्लेख गर्दै घिसिङले सार्वजनिक खरिदलाई पुनः कागजी र अपारदर्शी प्रक्रियातर्फ लैजान नहुने बताएका छन् ।
उनले ई–जिपीलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउन आवश्यक प्राविधिक स्तरोन्नति, सुरक्षा परीक्षण, तथ्याङ्कको सुरक्षित प्रतिलिपि तथा आपत्कालीन अवस्थामा प्रणाली पुनः सञ्चालन गर्न सकिने व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।















