Logo
Logo

एउटा योद्धाको अवसान भएको दिन


वसन्त लोहनी

252
Shares


आज सोमबार हरितालिका तीज र गणेश चतुर्थी पनि परेको दिन हो । अन्तर्राष्ट्रिय बाल दिवस मनाउने दिन पनि ।
आजभन्दा ठीक ६७ वर्ष अगाडिको दिन पनि सोमबार नै थियो । तर हरितालिका तीज र गणेश चतुर्थी परेको थिएन । त्यतिबेलाको सोमबार द्वादशीको दिन थियो । तीज सकिएको त एक हप्ता भइसकेको थियो । संयुक्त राष्ट्रसङ्घले बालबालिकाको अधिकार सुनिश्चित गर्ने निर्णय देवकोटा बितेकै वर्ष गरेको भए पनि बाल दिवस मनाउने चलन नेपालमा २०२१ सालबाट सुरु भएको हो । रानी रत्नको जन्मदिनमा मनाउने गरिएकोमा २०६३ को जनआन्दोलनपछि भदौ २९ गतेको दिनमा मनाउने चलन पर्न गएको हो ।

The current image has no alternative text. The file name is: laxmi.jpg

त्यो दिन एउटा अथक योद्धाको अवसान भएको दिन थियो । आर्यघाटमा रहँदाको अन्तिम समयमा पनि उनी युद्ध जितिरहेका थिए । मलाई लाग्छ, युद्धमैदानमा गोलाबारुदबाट जितेको युद्धभन्दा विचार, दृष्टिकोण र सोचले समाजको अगुवाइ गर्ने युद्ध दार्शनिक र कविहरूले लडेका हुन्छन् ।

विश्वको परिवर्तन र क्रान्तिको इतिहास हेर्ने हो भने फ्रान्सेली क्रान्तिमा वैचारिक ऊर्जा दिएर लडेका थिए रुसो र भोल्टायर जस्ता दार्शनिकले । यस्तै जनाधिकारको पहरेदारी गर्ने र परिवर्तनका लागि ऊर्जा दिएका थिए अङ्ग्रेजी कवि शेली, रुसी कविद्वय पुश्किन र मायाकोभ्स्कीले । हाम्रै छिमेकमा काजी नजरुल इस्लाम र फैज अहमद फैज थिए । नेपालको प्रजातान्त्रिक आन्दोलनमा यस्तै ऊर्जा दिएर लड्नेहरू थिए– लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ र गोपालप्रसाद रिमालले । देवकोटाले त २००४ सालमा बनारसमै बसेर नेपाली कांग्रेसले बजाएको क्रान्तिको बिगुल पर परसम्म सुनाउनको लागि निकालेको पत्रिका युगवाणीको सम्पादन नै गरेका थिए ।

यस अर्थमा उनी महान् योद्धा थिए । उनी थिएः महाकवि लक्ष्मीप्रसाद देवकोटा । आजभन्दा ठीक ६७ वर्ष अगाडिको त्यो दिन देवकोटाको निधन भएको दिन । हार्दिक श्रद्धाञ्जली अर्पण गर्छु र नमन गर्छु त्यो महान् आत्मालाई ।

देवकोटाले आदिकवि भानुभक्त आचार्यलाई ‘शुक्रतारा’ भने । मलाई लाग्छ, त्यो बिल्कुल ठीक हो । भानुभक्तले मूलतः संस्कृतमा लेखिएको रामायणलाई नेपाली भाषामा उतारेका थिए । मोतिराम भट्टले चमत्कार गरिदिए । केवल ३० वर्ष बाँचेका उनी नेपालको वाङ्मयको विभिन्न विधाका पहिलो नेपाली थिए । पहिलो गितकार, पहिलो गजलकार, पहिलो समालोचक, पहिलो जीवनी लेखक, पहिलो युवा कवि तथा पहिलो पत्रकार । मोतिराम भट्टले भानुभक्त आचार्य बितेको करिब ४५ वर्षपछि त्यो भानुभक्तको रामायण छापिदिए । र, जनजिब्रो बनेको त्यो रामायणका श्लोकहरूले पृथ्वीनारायण शाहले एकीकृत गरेको नेपालमा नेपालीहरूको भावनात्मक एकीकरणलाई अझ मजबुत गराएका थिए ।

शुक्रतारालाई तारा भनिए पनि त्यो आफैँमा एउटा ग्रह हो । ग्रह हुनुको अर्थ नै त्यसले परिक्रमा गरिरहेको हुन्छ । मलाई लाग्छ, भानुभक्त शुक्रताराजस्तै सधैँ परिक्रमा गरिरहेका छन्- राज्यबाट राष्ट्र बन्दै गएको यो मुलुकमा त्यो भावनात्मक एकीकरणलाई अझ मजबुत गर्दै जान ।

भानुभक्तलाई ‘शुक्रतारा’ भन्ने देवकोटालाई म ‘ध्रुवतारा’ भन्न चाहन्छु । नेपाली साहित्य आकाशमा उनी चम्किरहेका मात्र छैनन्, ‘ध्रुवतारा’ले जस्तै नेपाली साहित्यलाई दिशा देखाइरहेका छन् । ‘ध्रुवतारा’ हुनुको अर्थ नै त्यसले अरूबाट उज्यालो लिनुपर्दैन, जसरी शुक्रताराले सूर्यबाट उज्यालो लिनुपर्छ । भानुभक्तले संस्कृतमा लेखिएको रामायणबाट उज्यालो लिएर नेपालीमा उज्यालो बाँडे । ध्रुवताराले भने आफ्नै उज्यालोबाट चम्किएर बाटो देखाउन सक्छ । देवकोटा त्यसैले नेपाली साहित्य आकाशका ध्रुवतारा हुन् ।

मैले पनि उनलाई अन्तिम पटक ६७ वर्षअगाडि देख्ने मौका पाएको थिएँ । त्यो दिन आर्यघाटको बज्रघरमा थियो । भदौ २९ गते नै परेको थियो या एक–दुई दिनअगाडि, त्यसको हेक्का छैन मलाई । यो मौका सरकारले देवकोटालाई हेर्न जान बिदा दिएका कारणले जुरेको थियो । त्यो दिन स्कुल छुट्टी गरिएको थियो । यहाँ नेर म उद्धृत गर्न चाहन्छु आफ्नै लेख ’मलाई हजार बिच्छीले टोकेको जस्तो भएको छ’ बाट, जुन २५ वर्षअगाडि कार्तिक २८, २०५८ मा कान्तिपुर दैनिकको आफ्नै स्तम्भ पेजमा छापिएको थियोः

“।।।त्यस्तो कुनै एउटा दिनमा मैले पनि देवकोटालाई देखेको थिएँ– बरफको तकिया हालेर सुतेको त्यो उँचो खाटमा, जुन आर्यघाटको उत्तरपट्टिको बज्रघरको सानो कोठामा थियो । प्रशस्त भीडभाड थियो आर्यघाटमा र एक–एक जनालाई त्यस कोठामा गएर देवकोटाको परिक्रमा गर्न दिइएको थियो । र, त्यसरी नै परिक्रमा गरेर आफ्नो सम्मान मैले पनि जाहेर गरेको त्यो क्षण अहिले मेरो आँखाअगाडि झ्वाट्ट आएको छ । त्यो दृश्यलाई सम्झेर म अहिले जब विचार गर्छु, अनि लाग्छ- सायद त्यस्तो क्षण हुँदोरहेछ जिन्दगीमा, जब मान्छेले अरू बाँच्ने रहर गर्दैन । उसको इच्छाशक्ति मर्नका लागि मात्र हुन्छ र देवकोटाको त्यतिबेलाको इच्छाशक्ति मर्नका लागि सञ्चित भएको थियो ।“

२९ गतेको साँझ ६ बजेतिर देवकोटाले आफ्नो शरीर छोडेर गए । पार्थिव शरीर जलेर खरानी भयो । राष्ट्र शोकमा डुब्यो । तर खरानीबाट उठ्ने चरीले जस्तो उनले पुनर्जीवित भएर अमरत्व प्राप्त गरेका छन् । अनि त नेपाली साहित्यका ‘ध्रुवतारा’ बनेर पथप्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्