
काठमाडौं । भदौ १० गते भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीले निजी क्षेत्रको करिब ३ खर्ब रुपैयाँ क्षति गरेको छ । सरकारको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन (आरडीएनए) को प्रतिवेदन अनुसार बाढीले निजी क्षेत्रका धेरै व्यावसायिक प्रतिष्ठान, आवास, जलविद्युत् आयोजना, विद्यालय, सवारीसाधन, सञ्चारमाध्यमलगायत भौतिक संरचनामा क्षति भएको छ ।
राष्ट्रिय योजना आयोगका सहसचिव एवं आरडीएनएका संयोजक अर्जुन भण्डारीले नीजी क्षेत्रमा करिब ३ खर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदनले देखाएको जानकारी दिए । बाढीले व्यापार/उद्योग गरेर करिब ४ हजार ८ सय व्यावसायिक प्रतिष्ठानमा आंशिक वा पूर्णरूपमा क्षति पुगेको आकलन छ । जसबाट १ खर्ब ४६ अर्ब १९ करोड रुपैयाँको क्षति भएको छ ।
बाढीबाट भौतिक संरचनामा भौतिक रूपमा पुगेको क्षति र त्यसबाट गुमेको सम्भावित हानिनोक्सानी जोडेर आरडीएनएले कुल क्षति तथा हानिनोक्सानी गणना गरेको हो । त्यसअनुसार बाढीले १ खर्ब ४६ अर्ब १९ करोड रुपैयाँ बराबरको आर्थिक गतिविधि÷जीवनयापनमा असर गरेको देखाएको छ, जसमा ३० अर्ब ३० करोडको क्षति र १ खर्ब १५ अर्ब ८९ करोडको हानिनोक्सानी भएको जनाइएको छ । व्यावसायिक प्रतिष्ठानको पुनर्निर्माणका लागि मात्र ४५ अर्ब ४५ करोड रुपैयाँ आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा क्षति पुगेकामध्ये १ हजार २ सय ५९ होटल तथा रेस्टुरेन्ट, १ हजार २ सय १२ थोक तथा खुद्रा व्यापार, ८ सय ६६ शैक्षिक संस्था, ३ सय ४५ विद्युत्, ग्यास र पानी उद्योग, २ सय ६३ उत्पादनमूलक उद्योग, २ सय २७ अन्य सेवाका क्रियाकलापहरू, १ सय ९० वित्तीय क्षेत्र र बिमाका क्षेत्र, १ सय ७९ कृषि, मत्स्य र वनका व्यवसाय, १ सय ७१ मानव स्वास्थ्य र सामाजिक कार्य र ८७ यातायातसँग सम्बन्धित व्यावसायिक प्रतिष्ठान प्रभावित भएको आरडीएनएले जनाएको छ ।
यस्तै, बाढीले रसुवामा १ हजार ७ सय ७९, नुवाकोटमा ३ हजार ९ सय ७७, धादिङमा १ हजार ४ सय ५१, गोरखामा २ सय ६८ र चितवनमा एक सय गरी कुल ७ हजार ५ सय ७० निजी घर आंशिक वा पूर्णरूपमा क्षति भएको आरडीएनएमा उल्लेख छ ।
क्षतिग्रस्त घरमध्ये माटो–ढुंगाले बनेका घर २ हजार ३ सय १९, ढुंगा÷इँटा÷सिमेन्टका घर ३ हजार २ सय १५ र कंक्रिट÷ढलान घर २ हजार ३६ छन् । भवनतर्फ मात्रै ६३ अर्ब ८८ करोड रुपैयाँ बराबरको क्षति भएको आरडीएनएको प्रतिवेदनले औंल्याएको छ । यी भवन पुनर्निर्माणका लागि ९५ अर्ब ८२ करोड रुपैयाँ आवश्यक रहेको प्रतिवेदनको अनुमान छ ।
वित्तीय संस्थातर्फ १२ वटा बैंक तथा वित्तीय संस्थाका १७ शाखा आंशिक वा पूर्णरूपमा क्षतिग्रस्त छन्, जसमा करिब ९२ करोडको क्षति भएको र तिनको पुनर्निर्माणका लागि १ खर्ब ८ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । क्षतिग्रस्त बैंकका शाखामध्ये नेपाल इन्भेस्टमेन्ट मेगाका तीन, एनआईसी एसियाका तीन र प्रभु बैंकका दुई वटा छन् । यस्तै, कृषि विकास बैंक, सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक, एनएमबी बैंक र सानिमा बैंकका एक÷एक शाखामा क्षति पुगेको छ । तीमध्ये कृषि विकास बैंक मात्र सरकारी स्वामित्वको हो । यस्तै, बाढीले कृषि क्षेत्रको १ अर्ब ९ करोड रुपैयाँको नोक्सानी भएको छ ।
१ हजार ८ सय ६ हेक्टर कृषियोग्य जमिनमा क्षति पुगेको प्रारम्भिक आकलन छ । बाढीले पशुपालनमा १ अर्ब ४४ करोड, घरायसी नवीकरणीय ऊर्जामा ५६ करोड र दूरसञ्चार क्षेत्रमा ६२ करोड ८७ लाख रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ । यी सबैमा निजी क्षेत्रको लगानी रहेको प्रतिवेदनले जनाएको छ ।
हाल सञ्चालनमा रहेका ७ जलविद्युत् आयोजना (कुल विद्युत् जडित क्षमता २५०.४ मेगावाट) र निर्माणाधीन ६ जलविद्युत् आयोजना (कुल विद्युत् जडित क्षमता ५०८.६२५ मेगावाट) मा क्षति पुगेको छ । यस्तै ५ वटा सौर्य ऊर्जा प्लान्ट (कुल विद्युत् जडित क्षमता २४.३६ मेगावाट) मा पनि क्षति पुगेको आरडीएनएले जनाएको छ । समग्रमा १३ जलविद्युत् आयोजना र ५ सौर्य ऊर्जा प्लान्टमा क्षति पुगेको छ ।
जलविद्युत् आयोजना तथा प्रसारण लाइनमा गरेर १ खर्ब ५१ अर्ब रुपैयाँको क्षति भएको छ । क्षति पुगेका १३ आयोजनामध्ये ८ निजी क्षेत्रका हुन् । जलविद्युत्को क्षति तथा हानिनोक्सानीमा आधाभन्दा बढी निजी क्षेत्रको रहेको राष्ट्रिय योजना आयोगका अर्का एक अधिकारीले बताए । यसरी क्षति पुगेका समग्र जलविद्युत् आयोजना र प्रसारण लाइन पुनर्निर्माणका लागि ३ खर्ब ९० अर्ब ६२ करोड रुपैयाँ लाग्ने आरडीएनएले जनाएको छ ।
शैक्षिक संस्थातर्फ रसुवाका गोसाइँकुण्ड गाउँपालिका तथा उत्तरगया गाउँपालिका, नुवाकोटको विदुर नगरपालिका र धादिङका गल्छी गाउँपालिका र बेनीघाट रोराङ गाउँपालिकामा गरी ११ स्कुलका ३८ भवन र १५६ कक्षाकोठा पूर्णरूपमा क्षतिग्रस्त छन् । नुवाकोटको विदुर नगरपालिका र धादिङका गल्छी गाउँपालिका, बेनीघाट रोराङ गाउँपालिका र सिद्धलेक गाउँपालिकामा गरी ७ स्कुलका १८ भवन र १ सय ५२ कक्षाकोठामा आंशिक क्षति पुगेको छ । यीमध्ये करिब आधा दर्जनभन्दा बढी निजी विद्यालय छन् ।
नेपाल टेलिकमको ३ र एनसेलको १ टावरमा क्षति पुगेको छ, जसमा ६२ अर्ब ८७ करोड रुपैयाँको क्षति भएको छ । त्यसको पुनर्निर्माणका लागि ९४ अर्ब ३० करोड लाग्ने प्रतिवेदनको आकलन छ । बाढीले करिब १ हजार ४१ वटा पशुपन्छीमा क्षति पु¥याएको छ । बाढीबाट ४ खर्ब ८ अर्बको क्षति तथा हानिनोक्सानी र पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड आवश्यक पर्ने प्रारम्भिक अनुमान आरडीएनएको छ ।















