
काठमाडौं । प्रतिनिधिसभामा सरकारले साताको एक दिन आइतरबार दिँदै आएको सार्वजनिक बिदा खारेकीको माग उठेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपाका सांसद ताहिर अलि भाटले आइतबारको बिदाले सार्वजनिक सेवा प्रवाहमा असर परेको भन्दै खारेज गर्न माग गरेका हुन् ।
सांसद भाटले आइतबारको बिदा आवश्यक नभएको जिकिर गर्दै यसलाई कटौती गरेर पहिलाकै व्यवस्था (शुक्रबार आधा र शनिबार पूर्ण बिदा) कायम गर्न सरकारसँग आग्रह गरे । उनले भने, ‘आइतबारको बिदा कसैलाई पनि चाहिएको छैन। न सरकारी कर्मचारीलाई यो आवश्यक छ, न त विद्यालय वा शिक्षा क्षेत्रलाई नै ।’
सांसद भाटले आइतबारको बिदाका कारण आम नागरिकले साताभर सेवा लिन कठिनाइ भोग्नुपरेको र विकास निर्माण तथा प्रशासनिक कार्यमा समेत ढिलाइ भएको उल्लेख गरे । ‘बिदाको व्यवस्थाले कसैलाई पनि फाइदा पुगेको छैन, त्यसैले जनभावनाको कदर गर्दै तत्काल यो व्यवस्था खारेज गरी पुरानै कार्यतालिका कार्यान्वयन गरियोस्,’ उनले भने ।















