
काठमाडौं । बाढी, पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरू पूर्ण तथा एकतर्फी रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले बिहान ६ बजे दिएको जानकारी अनुसार बागमती र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरू प्रभावित भएका छन् ।
बागमती प्रदेशअन्तर्गत काभ्रेको बीपी राजमार्गमा खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी चल्ने सम्पूर्ण सवारी साधनहरूका लागि भदौ १६ गतेदेखि लागू हुने गरी विशेष नियम बनाइएको छ । अर्को सूचना नभएसम्म साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म १० टनसम्मका मालवाहक सवारी साधनहरू सञ्चालन हुनेछन्। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने परिस्थितिको विचार गरी सवारी साधनहरू सुचारु गरिने जनाइएको छ ।
त्यस्तै रसुवाका मुख्य सबै राजमार्गहरू भदौ १० गते बिहान १०ः३० बजेदेखि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन्। नुवाकोटको टोखा–छहरे सडक खण्डअन्तर्गत शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा सम्भावित बाढी र पहिरोका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । भदौ ०१ गतेदेखि अर्को सूचना नभएसम्मका लागि राति १० बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन पाइने छैन ।
नुवाकोटकै पसाङ ल्हामु सडक खण्डअन्तर्गत विदुर नगरपालिका–१० सिमटारमा भदौ १० गतेदेखि बाढीका कारण बाटो पूर्ण रूपमा अवरुद्ध रहेको छ । धादिङको पृथ्वीलोकमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–०७ कृष्ण भिरमा भदौ १४ गतेदेखि पहिरोका कारण सडक पूर्ण रूपमा ठप्प छ । पृथ्वीलोकमार्गकै बेनिघाट रोराङ गाउँपालिका–१० ज्वाङखोलामा भदौ १६ गतेदेखि र शीतलबजारमा भदौ २६ गतेदेखि पहिरो पन्छाएर सडक एकतर्फी सुचारु गरिएको छ ।
चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तुइनखोलामा भदौ २२ गतेदेखि सडक मर्मतको काम भइरहेकाले गाडीको चाप हेरेर एकतर्फी रूपमा सवारी साधन सञ्चालन गराइएको छ ।
कर्णाली प्रदेशतर्फ हुम्लाको कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–६ खरीखेतमा भदौ २९ गतेदेखि पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जानकारी दिएको छ ।
















