Logo
Logo

मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न सरकार असफल भयाे : एमाले


126
Shares

काठमाडौं । नेकपा एमालेले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भएको दाबी गरेको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले विज्ञप्ति जारी गर्दै दैनिक उपभोग्य वस्तुको आपूर्ति तथा व्यवस्थापन र कालोबजारी नियन्त्रणमा सरकार असफल भएको दाबी गरेका हुन् ।

उनले जनतालाई राहत दिनुको सट्टा सरकार आफ्नो असफलता र कमजोरी ढाकछोप गर्न विषयान्तरको राजनीति गरिरहेको आरोप लगाए । उनले भनेका छन्, ‘नेपालीहरूका सांस्कृतिक चाडपर्वहरू नजिकिँदै गर्दा जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि भइरहेको छ ।’

ग्यासको सहज आपूर्ति र व्यवस्थापन गर्न नसकेर सरकारले जनतालाई सास्ती दिइरहेको आरोप लगाउँदै आचार्यले एमालेविरुद्ध दुष्प्रचार गरिएको बताएका छन् ।

उनका अनुसार ललितपुरका एक पौडेल थरका व्यापारीलाई एमाले केन्द्रीय सदस्यको ‘कृत्रिम परिचय’ दिँदै ग्यास लुकाएको आरोप लगाएर पार्टीलाई बदनाम गर्ने प्रयास भएको छ । नेता आचार्यले सरकार संरक्षित राजनीतिक दलका कार्यकर्ताले सामाजिक सञ्जालको दुरुपयोग गर्दै भ्रम फैलाउने, साइबर बुलिङ गर्ने तथा सामाजिक सद्भाव भड्काउने गतिविधि गरेको आरोपसमेत लगाएका छन्।

आचार्यले सरकारको असफलता र जनताको समस्याबाट ध्यान मोड्न यस्ता गतिविधि भइरहेको दाबी गर्दै त्यसको भत्र्सना गरेका छन् । उनले भ्रम र दुष्प्रचारको राजनीति लामो समय नचल्ने उल्लेख गर्दै सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्री तथा त्यसमा संलग्न व्यक्तिको विवरण प्रमाणसहित सार्वजनिक गर्दै जाने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्