Logo
Logo

बिरामीको पीडा भ्युज र टीआरपीको कन्टेन्ट


189
Shares

आईसीयू भन्नेबित्तिकै तपाईँको दिमागमा के आउँछ ? जीवन र मृत्युसँग सङ्घर्ष गरिरहेको बिरामी । डाक्टर र नर्सको निरन्तर निगरानी । अनि सङ्क्रमणको सानो जोखिमले पनि ठूलो खतरा निम्त्याउन सक्ने अति संवेदनशील ठाउँ । अस्पताल आफैँमा संवेदनशील ठाउँ हो । त्यही अस्पतालको सबैभन्दा संवेदनशील ठाउँ हो-आईसीयू । जहाँ बिरामीका आफन्तलाई समेत सहजै प्रवेश गर्न दिइँदैन ।

अब एकछिन कल्पना गर्नुहोस्-तपाईँ वा तपाईँको कोही आफन्त जीवन र मरणको दोसाँधमा आईसीयूमा हुनुहुन्छ । सङ्क्रमणको जोखिमका कारण परिवारका सदस्यलाई समेत सिसाबाहिरबाट मात्रै हेर्न दिइएको छ । तर, त्यही बेला कोही व्यक्ति ठूला–ठूला क्यामेरा, चर्को लाइट र माइक बोकेर सीधै तपाईँको ओछ्यानछेउ आइपुग्छ । अनि सोध्छ– ‘तपाईँलाई अहिले कस्तो महसुस भइरहेको छ ?’ सुन्दा असम्भवजस्तो लाग्छ । तर, यस्तै घटना अहिले भएको छ । त्यो पनि अनुशासन र कडा प्रोटोकलका लागि चिनिने नेपाली सेनाको अस्पतालभित्र ।

चर्चित सञ्चारकर्मी सुरजसिंह ठकुरीले रसुवाको भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाको सुरुङभित्र १० दिनसम्म थुनिएर उद्धार गरिएका घाइतेहरूको अन्तर्वार्ता लिने नाममा जे गरे, त्यसले नेपाली पत्रकारिताको नैतिकता र मेडिकल प्रोटोकलको धज्जी मात्रै उडाएको छैन, समग्र समाजलाई नै एउटा गम्भीर प्रश्नको कठघरामा उभ्याइदिएको छ-के एक्सक्लुसिभ समाचारको नाममा मान्छेको संवेदनशीलतामाथि यसरी खुलेआम व्यापार गर्न पाइन्छ ?

आईसीयू भनेको यस्तो अति संवेदनशील क्षेत्र हो, जहाँ बाहिरको सानो सङ्क्रमणले पनि बिरामीको ज्यान जोखिममा पार्न सक्छ । त्यहाँभित्र जानुअघि चिकित्सक र नर्सहरूले समेत विशेष प्रोटोकल अपनाउनुपर्छ । मास्क, गाउन र पन्जा अनिवार्य लगाउनुपर्छ । तर, विडम्बना ! १० दिनसम्म सुरुङको चिसो र अन्धकारमा मृत्युसँग पौठेजोरी खेलेर भर्खरै उद्धार गरिएका सञ्जय साह र कबिर महर्जनलाई राखिएको सैनिक अस्पतालको आईसीयू कक्षलाई सुरजसिंह ठकुरीले युट्युब स्टुडियो बनाए ।

मास्कसमेत नलगाई दुई घण्टासम्म क्यामेरा र लाइट बालेर बिरामीहरूको अन्तर्वार्ता लिइयो । एकातिर बिरामीलाई आराम र चिकित्सकीय हेरचाहको चरम आवश्यकता थियो भने अर्कोतिर मिडियालाई आफ्नो च्यानलको भ्युज र ‘टीआरपी’ बढाउने ध्याउन्न थियो । बिरामीको ज्यानभन्दा युट्युबको कन्टेन्ट कसरी ठूलो हुन सक्छरु अनुमति दिने सैनिक मुख्यालय होस् वा क्यामेरा बोकेर पस्ने सञ्चारकर्मी, यी दुवै पक्षको चरम गैरजिम्मेवारी हो ।

आखिर, नेपाली सेना जस्तो कडा सुरक्षा र अनुशासन भएको संस्थाको अस्पतालभित्र, त्यो पनि आईसीयू जस्तो अति संवेदनशील ठाउँमा सुरजसिंह ठकुरीलाई क्यामेरासहित प्रवेश गर्ने अनुमति कसले र कसरी दियो ? कुरा के छ भने, सुरजसिंह ठकुरी पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अवैतनिक सल्लाहकार हुन् । मन्त्रीले त सायद आफ्नो मन्त्रालयको कामकारबाहीमा केही राम्रो सल्लाह पाइन्छ कि भनेर नियुक्ति दिएका थिए होलान् । तर, ठकुरीले भने मन्त्रीको त्यही सल्लाहकारको कार्डलाई आफ्नो युट्युब च्यानलका लागि कन्टेन्ट खोज्ने अस्त्र बनाए । त्यही कार्डको धाक देखाएर उनी सेनाको हेलिकप्टरमा बाढीग्रस्त क्षेत्रमा समेत पुगेका थिए । र, त्यही कार्डकै पहुँचले उनलाई सैनिक अस्पतालको आईसीयूको ढोका खुला गरिदियो ।

मन्त्रीले सल्लाहकारको कार्ड पत्रकारिता गर्न वा सेनाको हेलिकप्टर सयर गर्न दिएका पक्कै थिएनन् । तर, यहाँ ‘म मन्त्रीको सल्लाहकार हुँ’ भनेर कार्ड तेस्र्याएपछि कसको के लाग्छ ? कसले रोक्न सक्नेरु पहुँचको भरमा राज्यको स्रोत–साधन र संवेदनशील निकायको कतिसम्म निर्मम दुरुपयोग हुन्छ भन्ने कुराको योभन्दा ज्वलन्त र लज्जास्पद उदाहरण अरू के हुन सक्छ ?

कुनै पनि गल्ती गरेपछि मानिसले या त माफी माग्छ, या त त्यसलाई सच्याउँछ । तर, यहाँ त चलाखीपूर्ण ढङ्गले आँखामा छारो हाल्ने काम भयो । कार्यक्रमको प्रोमोदेखि युट्युबको हेडलाइनसम्म ठूला अक्षरमा ‘इन्साइड द आईसीयू’ राखेर भिडियो सार्वजनिक गरियो । जब सामाजिक सञ्जालमा विरोध हुन थाल्यो र चिकित्सकहरूले आईसीयूभित्र क्यामेरा छिराइएको विषयमा प्रश्न उठाए, तब उनीहरूले चलाखी अपनाए र सुटुक्क युट्युबको शीर्षक र थम्बनेल फेरे । ‘इन्साइड द आईसीयू’ को सट्टा ‘टनेलभित्र बचेकाको कथा’ राखियो । कभर फोटोमा रहेको ‘आईसीयू’ शब्द हटाएर ‘पोस्ट अपरेसन वार्ड’ लेखियो । र, त्यो परिवर्तन गरेको जानकारी कतै पनि दिइएन । यसले पनि उनीहरूको नियतलाई छर्लङ्ग पारिदिएको छ । यदि उनीहरूले गरेको काम सही थियो भने रातारात लुकेर किन शीर्षक फेर्नुपथ्र्यो ? यसले उनीहरूलाई आफ्नो गल्तीको महसुस सुरुमै भइसकेको थियो भन्ने देखाउँछ । तर, उनीहरू आफ्नो गल्ती स्वीकार्नुको साटो जनतालाई मूर्ख बनाउने प्रयास गरिरहेका छन् ।

यो हर्कतलाई लिएर अहिले चौतर्फी आलोचना भइरहेको छ । चिकित्सकहरूले यसलाई ‘चरम लापरबाही’ र ‘चिकित्सकीय आचारसंहिता विपरीत’को संज्ञा दिएका छन् । आम नागरिक, सञ्चार विज्ञ र अधिकारकर्मीहरूले यसलाई मानवीय संवेदनहीनताको पराकाष्ठा मानेका छन् । प्रेस काउन्सिल नेपालले पनि सञ्चारकर्मी सुरजसिंह ठकुरीसहित संलग्न मिडिया र अस्पताललाई स्पष्टीकरण सोधेको छ ।

उता, नेपाल मेडिकल काउन्सिलले पनि यस विषयमा अनुसन्धान थालेको छ । काउन्सिलका रजिस्ट्रार सुप्रभात श्रेष्ठका अनुसार काउन्सिलको ‘इथिकल कमिटी’ले अस्पताल प्रशासन र चिकित्सकको अनुमतिबारे विस्तृत अध्ययन गरिरहेको छ । सामान्य बिरामीका आफन्तलाई समेत रोक लगाइने आईसीयूमा पत्रकारलाई कसरी प्रवेश दिइयो ? प्रोटोकल मिचेर गरिएको यो हर्कतबारे नेपाली सेनाले पनि चासोका साथ आन्तरिक अनुसन्धान अघि बढाएको छ । अब हेर्नु यो छ कि, के यो अनुसन्धानले साँच्चै दोषीलाई कारबाही गर्छ, कि फेरि पनि पहुँचकै भरमा यो फाइल कतै थन्किन्छ ?

यो प्रकरणको बाछिटा सञ्जालमा मात्र सीमित रहेन, देशको सर्वोच्च कानुन बनाउने थलो प्रतिनिधि सभासम्मै पुगेको छ । मङ्गलवारको संसद् बैठकमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बाँस्कोटाले यस विषयलाई लिएर प्रश्न उठाइन् ।

 बाँकी भिडियोमा 

प्रतिक्रिया दिनुहोस्