कञ्चनपुर । रसुवाको लाङटाङ जलविद्युत् आयोजनामा कार्यरत शुक्लाफाँटा नगरपालिका-३ जोनापुरका अभिषेक डगौरा भदौ १० गते बिहान ८ः३० बजे आमासँग फोनमा कुरा गर्दै थिए । आमालाई उपचारका लागि चिन्ता नगर्न ढाडस दिँदै उनले एक/दुई दिनमा घर फर्किने र भारतको नयाँ दिल्ली लगेर उपचार गराउने बताएका थिए ।

‘आमा, एक–दुई दिनमा घर आउँछु । चिन्ता नलिनू । दिल्ली गएर हजुरको उपचार राम्रोसँग गरौँला,’ छोरासँगको अन्तिम संवाद सम्झँदै सुनिता डगौराले भनिनन्, ‘गरिबीले छोरा घरमा कहिल्यै बसेन । मजदुरीका लागि यताउता नै भयो । उसको कमाइले हाम्रो घरको चुल्हो बल्थ्यो । अब त घरमा दिउँसै अँध्यारो भयो ।’
आर्थिक अवस्था कमजोर भएकै कारण सुनिता विगत चार महिनादेखि दुवै मिर्गौलामा समस्या देखिए पनि घरमै थला परेकी छन् । यसअघि भारतको बरेलीमा उपचार गराउँदा डेढ लाख रुपैयाँ खर्च भएको उनका श्रीमान् बन्दुराम डगौराले बताए ।
पैसा नभएर गत असारयता अस्पताल लैजान नसकिरहेका बेला छोरा अभिषेक भदौ १० गते रसुवामा आएको बाढीपछि सम्पर्कविहीन भएका हुन् । ‘मिर्गौला पीडित श्रीमतीको उपचारका लागि भएको तीन कट्ठा जग्गा बन्धक राखेर पैसा लिएको थिएँ । छोराले ‘म उपचार खर्च त कमाइहाल्छु बुबा’ भन्थ्यो’ बन्दुरामले रासससित भने, ‘उपचार खर्चसहित घरको खर्च चलाउने आशा दिएको छोरो बाढीपछि सम्पर्कविहीन हुँदा परिवारको सहारा गुमेको छ ।’
गत जेठमा मात्रै अभिषेक लाङटाङ जलविद्युत् आयोजनामा काम गर्न रसुवा पुगेका थिए । त्यसअघि उनले भारतको बैङ्लोरमा काम गरेका थिए । ‘बुबा चिन्ता नगर्नु, आमाको उपचार गरिहालौँला भन्थ्यो,’ बन्दुरामले भने,’भरोसा दिने छोराको न सास न लास पाउने अवस्था भयो ।’
दुई छोरा र एक छोरीमध्ये २५ वर्षीय अभिषेक बन्दुरामका जेठा छोरा हुन् । छोरीको बिहे भइसकेको छ भने कान्छो छोरा पनि पढाइ छाडेर घरमै छन् । ‘जेठो छोरा बाढीले बेपत्ता भएपछि गाउँलेले श्रीमतीको उपचारका लागि ६५ हजार रुपैयाँ चन्दा सङ्कलन गरेका छन् । केहीले दिएको चामलले भोक मेटाउँदैछौँ,’ उनले भने ।
श्रीमती मिर्गौला पीडित र छोरा सम्पर्कविहीन भएको अवस्थामा आर्थिक अभावकै कारण अस्पताल लैजान नसकेको बन्दुरामले बताए । ‘एक पटक उपचारका लागि जाँदा १६ हजार भारतीय रुपैयाँ लाग्छ । आफूसित एक हजार ६०० पनि छैन,’उनले भने, ‘वडा कार्यालयको सिफारिसपछि चन्दा सङ्कलन गरेर भए पनि उपचारमा लैजान्छु। नत्र बिना पैसा कसले उपचार गरिदेला र ?’
घर बनाउने मिस्त्रीको काम गर्दै आएका बन्दुरामले परिवारमा समस्या परेपछि आफ्नो कामसमेत प्रभावित भएको बताए । छोराको खोजीका लागि उनी काठमाडौँसम्म पुगे । तर अभिषेकको अवस्थाबारे कुनै जानकारी पाउन सकेनन् ।
‘छोरा खोज्न काठमाडौँसम्म पुगेँ । न सास न त लासकै अवस्था पत्ता लाग्यो,’ उनले भने, ‘ठेकेदारले छोराले काम गरेको १५ हजार रुपैयाँ पारिश्रमिक लिएर तीन दिन बसेँ र भारी मन लिएर घर फर्किएँ । छोरालाई लिएर फर्किने आशामा निराशा र रोदन मात्रै बाँकी रह्यो ।’
बेपत्ता अभिषेककी आमा सुनिताले आफ्नो जीवन बचाइदिन सहयोगको याचना गरेकी छन् । ‘छोराको त अवस्था सरकारले पत्ता लगाउन सकेन । मेरो उपचारमा त केही सहयोग गर्ला र ?’ उनले भनिनन्,’ ु’मेरो अवस्थाकै कारण घर फर्किने तयारी गरिरहेको छोरा बाढीमा बेपत्ता भयो ।’
घरको आर्थिक अवस्था कमजोर भएकै कारण आफूले उपचार पाउन नसकेको सुनिताले बताइन् । ‘थोरै जग्गा थियो । त्यो पनि बन्धक राखेर भारतको बरेलीमा उपचार गरेको ऋण नै छ,’ उनले भनिनन्, ‘अहिले पनि श्रीमान् उपचारका लागि ऋण खोजिरहनुभएको छ । अब उपचारका लागि ऋण खोज्ने कि सम्पर्कविहीन छोरा खोज्ने ?’
बन्दुराम डगौराको परिवारको पीडा कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ का सांसद दीपकराज बोहराले सोमबार प्रतिनिधिसभाको बैठकमा समेत उठाएका थिए । उनले आफ्नो निर्वाचन क्षेत्रका मात्रै १४ जना भोटेकोशी बाढीपछि सम्पर्कविहीन रहेको बताएका थिए ।
शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद डगौराले सुनिताको स्वास्थ्य अवस्था समेटिएको पत्र बनाइदिएको बताए । ‘छोरा रसुवा बाढीमा परेर सम्पर्कविहीन छन् । आमा दुवै मिर्गौलामा समस्या देखिएर समस्यामा परेको अवस्था छ । घरमा छाक टार्नलाई अन्न नभएको अवस्था छ,’ वडाध्यक्ष डगौराले भने, ‘गाउँलेले जीवन रक्षाका लागि हात अघि बढाएका छन् । सबैको सहयोग भयो भने नेपालमा उपचार गराउने योजना छ । तर पैसा जुटिसकेको छैन ।’















