Logo
Logo

एमाले कार्यदलको बैठक नबोलाइएपछि सदस्यहरू अन्यौलमा


630
Shares

काठमाडौं । नेकपा (एमाले) पुनर्गठन कार्यदलको बैठक अनिश्चित भएको छ । बिहीबार बस्ने भनिए पनि बैठक अझै बोलाइएको छैन ।

अध्यक्ष केपी शर्मा ओलीकहाँ शीर्ष नेताहरूबीचको छलफलपछि पनि कार्यदलको बैठक नबोलाइएपछि सदस्यहरू अन्यौलमा छन् ।

आज गुण्डुमा अध्यक्ष ओली निवासमा शीर्ष नेताहरूबीच छलफल भयो । कार्यदलका संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, कार्यदलका सह–संयोजक तथा सदस्यसचिव शंकर पोखरेल, नेताहरू प्रदीप ज्ञवाली, विष्णु रिमाल, भानुभक्त ढकाललगायतबीच छलफल भएको हो ।

शीर्ष नेताहरूबीच कार्यदलबारे भन्दा पनि आगामी केन्द्रीय समितिको बैठकका विषयमा छलफल भएको अध्यक्ष ओलीकी सचिवालय प्रमुख निरुदेवी पालले जानकारी दिइन् । नेताहरूले भने पुनर्गठन कार्यदलको प्रतिवेदनका विषयमा नै छलफल भएको बताएका छन् ।

तीन दिन काभ्रेको बल्थलीमा बसेको बैठकले दुई प्रतिवेदन एकीकृत गरी प्रतिवेदन बनाउने जिम्मा बादल, पौडेल र पोखरेललाई दिएको थियो । तर, तीन नेताले बुधबार छलफल गरे पनि निष्कर्ष निस्कन सकेन ।

त्यसपछि बादल हिजै गुन्डु पुगेका थिए । अरु नेता आज अध्यक्ष निवासमा नै गएर छलफल गरेका हुन् । छलफलपछि पनि कार्यदल बैठक नतोकिएपछि कुराकानी नमिलेको नेताहरूको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्