काठमाडौँ । हिमालय एअरलाइन्स्ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (काठमाडौँ) र सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थल (चीन) बीच आगामी सोमबार, सेप्टेम्बर २८, २०२६ देखि नियमित सिधा उडान सेवा पुनः सुरु गर्ने भएको छ। योसँगै हिमालय एअरलाइन्स् यस रुटमा नियमित सिधा उडान सञ्चालन गर्ने एकमात्र वायुसेवा कम्पनी बन्नेछ।

नेपालको मुख्य पर्यटन सिजनको सुरुवातसँगै यो हवाई सेवा पुनः सञ्चालन हुन लागेको हो। यसले चीनको सबैभन्दा ठूलो सहर तथा प्रमुख वित्तीय केन्द्र सांघाई र नेपालको राजधानीबीचको रणनीतिक हवाई सम्पर्कलाई पुनः स्थापित गर्नेछ। यस उडानले चीनबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि ल्याउनुका साथै समग्र आतिथ्य, पर्यटन क्षेत्र र नेपालको आर्थिक पुनरुत्थानमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार प्रारम्भिक चरणमा यस रुटमा साप्ताहिक दुई उडान सञ्चालन हुनेछन्। काठमाडौँदेखि सांघाईतर्फका उडानहरू हरेक सोमबार र शुक्रबार साँझ १८:२५ बजे प्रस्थान गरी अर्को दिन बिहान ०२:०० बजे अवतरण गर्नेछन्। त्यसैगरी, सांघाईबाट काठमाडौँ फर्कने उडानहरू हरेक मंगलबार र शनिबार बिहान ०३:०० बजे प्रस्थान गरी सोही दिन बिहान ०७:१० बजे काठमाडौँ अवतरण गर्नेछन्। आगामी दिनमा यात्रुको माग र चापका आधारमा उडान सङ्ख्या थप गरिने कम्पनीले जनाएको छ।
हिमालय एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले यस उडानले दुई देशबीच व्यापार, पर्यटन तथा जनस्तरको सम्पर्कलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ। चीनमा नयाँ गन्तव्यहरू खोज्दै नियमित उडान अगाडि बढाउने उद्देश्यअनुरूप सुरु हुन लागेको यस रुटमार्फत यात्रुलाई सुरक्षित र अविस्मरणीय यात्रा अनुभव प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको छ। यात्रुहरूले एअरलाइन्स्को टिकटिङ काउन्टर, आधिकारिक ट्राभल एजेन्सी, एअरलाइन्स्को आधिकारिक वेबसाइट र मोबाइल एपमार्फत टिकट बुकिङ गर्न सक्नेछन्।
सन् २०१४ मा स्थापना भएको हिमालय एअरलाइन्स् नेपाल र चीनबीचको संयुक्त लगानी रहेको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हो। हाल ४ वटा एयरबस विमानमार्फत मध्यपूर्व र दक्षिण एसियाका विभिन्न राष्ट्रमा उडान भरिरहेको यो कम्पनी नेपालको पहिलो र एकमात्र आईओसा (IOSA) प्रमाणित र आईएटा (IATA) सदस्य एअरलाइन्स् हो।














