काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सयौँ यात्रुको ज्यान जोगाउने भारतीय विमान चालक स्मित मच्छारको प्रशंसा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत मच्छारलाई ‘नायक’ भन्दै अत्यन्त जोखिमपूर्ण अवस्थामा गम्भीर घाइते हुँदासमेत अरूको ज्यान बचाउन उनले देखाएको साहसको प्रशंसा गरेका हुन् ।

मोदीले मच्छारको बहादुरीकै कारण सयौँ मानिसको ज्यान जोगिएको र ठूलो दुर्घटना हुनबाट रोकिएको बताएका छन् । उनले भारतलाई क्याप्टेन मच्छारमाथि गर्व रहेको उल्लेख गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
बुधबार दुबईबाट तेल अभिभतर्फ जाँदै गरेको फ्लाईदुबईको विमानलाई नियन्त्रणमा लिएर दुर्घटनाग्रस्त गराउने प्रयास भएको थियो । विमानका सहचालकले नै यस्तो प्रयास गरेको बताइएको छ । भारतीय पाइलट स्मित मच्छारले भने सहचालकको योजनालाई असफल बनाएका थिए ।
घटनाका क्रममा सहचालकले मच्छारमाथि चक्कुले आक्रमण गरेका थिए । उनले विमानको प्रणालीमा समेत क्षति पुर्याउने प्रयास गरेका थिए । चक्कुको धेरै प्रहारबाट घाइते भए पनि मच्छारले कठिन अवस्थामा ककपिटको ढोका खोल्न सफल भएका थिए ।
त्यसपछि विमानमा रहेका दुई जना काममा नरहेका इजरायली पाइलट र अन्य यात्रुले आक्रमणकारीलाई नियन्त्रणमा लिएका थिए । यससँगै १७४ यात्रु सवार विमान दुर्घटनामा पर्नबाट जोगिएको बताइएको छ । घटनामा क्याप्टेन मच्छार गम्भीर घाइते भएका छन् र उनको साउदी अरबको ताबुकस्थित अस्पतालमा उपचार भइरहेको छ ।
विमानमा सवार १७४ यात्रुमध्ये १५० जना इजरायली नागरिक थिए । उनीहरूमध्ये २७ जना बालबालिका थिए । त्यसैले इजरायली सरकारले पनि भारतीय पाइलटको बहादुरीको प्रशंसा गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मच्छारसहित घटनामा संलग्न नायकहरूको प्रशंसा गर्दै असाधारण सुझबुझ र साहस प्रदर्शन गरेर धेरै मानिसको ज्यान बचाएको बताएका छन् । उनले ठूलो दुर्घटना हुनबाट रोक्ने काम गरेको भन्दै मच्छारलाई सच्चा नायकको संज्ञा दिएका छन् ।
इजरायलका उपमन्त्री अल्मोग कोहेनले पनि क्याप्टेन स्मित मच्छारलाई इजरायलका नायक भएको बताएका छन् । उनले मच्छारले असाधारण सुझबुझ देखाउँदै ककपिटको ढोका खोलेर विमानमा रहेका अन्य पाइलट र यात्रुलाई आक्रमणकारीलाई नियन्त्रणमा लिन अवसर दिएको बताएका छन् ।
कोहेनले आगामी इजरायली संसद् बैठकमा बेन गुरियन विमानस्थलको एउटा विश्राम कक्षको नाम क्याप्टेन स्मित मच्छारको नाममा राख्ने प्रस्ताव अघि बढाउने बताएका छन् ।














