काठमाडौं । तीन सर्जकहरूले अंग्रेजी भाषामा लेखेको तीन कृति सार्वजनिक भएको छ । आठ वर्षीय सुक्ष्मांक जैसीको ‘कृएटिभ स्क्रिबल्स’, १४ वर्षीय सुक्ष्मय)का जैसीको ‘फस्फर’ र १९ वर्षीय सुशांक जैसीको ‘नेसमाज’ शीर्षक कृति सार्वजनिक गरिएको हो ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक कृृतिहरूमाथि बोल्दै प्रमुख अतिथि साहित्यकार एवम् समालोचक प्रमोद प्रधानले एउटै आमाबाबुका छोराछोरीको एकैपटक तीन कृति सार्वजनिक गर्न पाउँदा आफूलाई खुसी लागेको बताए ।
प्रधानले संरचनाका हिसावले तीन पुस्तक फरकफरक भएको बताउँदै कृतिहरू बालमनोविज्ञानले भरिपूर्ण रहेको उल्लेख गरे । कृतिमा उठान गरिएका विषयहरू तार्किक र महत्वपूर्ण भएको उनको भनाइ छ ।
‘नेसमाज’मा तीन पात्र सिर्जना गरी तीन महत्त्वपूर्ण नदी र तिनका सभ्यतासँग जोडेर लेखिएको विषय छ । त्यस्तै ‘फस्फर’ जीवनका विभिन्न पलहरूको डायरी जस्तो लाग्ने उनले बताए । ‘कृएटिभ स्क्रिबल्स’ पनि इमानदार लेखन भएको उनले बताए ।
सिर्जनशील प्रतिभा जन्माएर त्यही खालको वातावरण निर्माण गरिदिने लेखकत्रयका पिता रामकृष्ण जैसी र माता मायालक्ष्मी हमाललाई प्रतिष्ठानका तर्फबाट विशेष सम्मान गरियो । कार्यक्रम सुनकोसी वाङ्मय प्रतिष्ठानले आयोजना गरेको हो ।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले मोबाइलविना केही गर्न नसक्ने उमेर समूहकै बालबालिकाहरूबाट अंग्रेजी भाषामा साहित्यिक कृतिहरू प्रकाशित हुनु आफैँमा ठूलो उपलब्धि भएको बताए ।
सार्वजनिक पुस्तकहरूमाथि चर्चा गर्दै सर्जक माधव घिमिरे अटलले तीनवटै किताबमा बालमनोविज्ञान प्रसस्त मात्रामा आएको बताए । फस्फरले जीवनका विभिन्न सन्दर्भहरु पस्केको भन्दै आफ्नो उमेर समूहअनुरुप लेखाई आएको बताए ।
उनले भने, “डायरी शैलीमा लेखिएको, प्रत्येक पार्टमा मिल्ने कुरा रुढीवादी परम्परा भत्काउन खोजेको देख्दा एउटा बालभावमा पनि विद्रोही चेत रहेको देखिन्छ । तीन कक्षामा पढ्ने बालकले ‘कृएटिभ स्क्रिबल्स’मा मनका भावना सहज र सरल ढंगबाट पोखेका छन् । ‘नेसमाज’ले भने देशको कोसी, गण्डकी र कर्णाली सभ्यताको विविधता र नेपाली समाजको यथार्थलाई प्रस्तुत गरेको पाइन्छ ।”
कार्यक्रममा सिद्धार्थ वनस्थली स्कुलकी सहायक प्रधानाध्यापक सुनिता सिंहले लेखक बालबालिकाहरूको स्वभाव, लगाव लगायतका विषयमा आफ्नो धारणा राखिन् ।
लेखकहरूकातर्फबाट सुक्ष्मयंका जैसीले हजुरआमाले सिकाइको भोक बुवामा जागृत गराइदिएको, पढ्नुपर्छ भन्ने भावना बुवाबाट आफुहरूमा आएको बताइन् ।
कार्यक्रममा केशव पराजुली, प्रदीप सापकोटा, छविरमण सिलवाल, रामसुन्दर देउजालगायतले आफ्ना धारणा राखेका थिए । पुस्तक भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो ।













