काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनको इलिमिनेटरमा चितवन राइनोजले काठमाण्डू गोर्खाजलाई २ सय पाँच रनको विशाल लक्ष्य दिएको छ ।

बुधबार कीर्तिपुरपस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ राजेको चितवनले काठमाण्डूविरुद्ध निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०४ रनको योगफल खडा गरेको हो ।
इनिङ्सको सुरुआतमा चितवनले दबाब महसुस गरेको थियो । तेस्रो ओभरमा काठमान्डुका कप्तान करण केसीले देव खनाल (१७ रन) र डेविड मलानलाई लगातार बलमा आउट गर्दै चितवनलाई झट्का दिए । मलान खाता नखोल्दै पभेलियन फर्किएपछि पावरप्लेमा चितवनले २ विकेट गुमाएर ३४ रन मात्र जोड्न सक्यो । त्यसपछि कामिल मिशारा र रवि बोपाराले तेस्रो विकेटका लागि उत्कृष्ट साझेदारी गर्दै इनिङ्स सम्हाले ।
कामिल मिशारा यस खेलका मुख्य आकर्षण रहे । सुरुमा संयमित खेलेका उनले ३३ बलमै अर्धशतक पूरा गरे र त्यसपछि मैदान चारैतिर आक्रामक सट प्रहार गरे । उनले १४औँ ओभरमा सोनु देवकोटाविरुद्ध लगातार तीन छक्का प्रहार गर्दै खेलको गति बदले । मिशाराले ५३ बलमा नै शतक पूरा गरे । उनी एनपीएलमा शतक प्रहार गर्ने पाँचौँ खेलाडी बनेका छन् ।
यसअघि एन्ड्रीस गोउस, मार्क वाट, आडम रोसिङ्टन र युवराज सामराले एनपीएलमा शतक बनाएका थिए । मिशाराले यस क्रममा एनपीएल इतिहासकै उच्च व्यक्तिगत स्कोरको कीर्तिमान पनि भंग गरेका छन् । उनी १२० रनमा नटआउट रहे । यसअघि यो कीर्तिमान गत सिजन लुम्बिनी लायन्सविरुद्ध ११४ रन नटआउट बनाएका कर्णाली याक्सका मार्क वाटको नाममा थियो।
मिशारालाई गतिलो साथ दिएका कप्तान रवि बोपाराले पनि ४२ बलमा ५३ रनको अर्धशतकीय इनिङ्स खेले । बलिङतर्फ काठमान्डुका लागि कप्तान करण केसी र राशिद खानले दुई-दुई विकेट हात पारे ।
यो खेल जित्नेले दोस्रो क्वालिफायर्समा स्थान बनाउने छ भने होर्न टोली प्रतियोगिताबाट बाहिरिनुपर्नेछ ।


















