काठमाडौं । एनसेलले दार्चुला जिल्लाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार सेवाहरु सञ्चालनमा ल्याइएको छ । टावरको सञ्चालन पश्चात मार्माको लट्टिनाथ क्षेत्रका स्थानीय बासिन्दाहरूले दूरसञ्चार सेवाको पहुँचबाट प्रत्यक्ष लाभ लिन थालेका छन् ।

स्थानीयहरूको सञ्चार सेवाको आवश्यकतालाई मध्यनजर गर्दे एनसेलले यो टावर जडान गरेको हो । स्थानीय बासिन्दा मात्र होइन, अपि हिमाल आरोहण तथा उक्त क्षेत्रमा पदयात्रा र अन्य पर्यटकीय गतिविधिमा संलग्न हुने पर्यटकहरूका लागि पनि यसले सञ्चार सेवा थप भरपर्दो बनाउने एनसेलले जनाएको छ ।
“यो टावरको जडान र सञ्चालनसँगै हामीले फोरजी सेवाको पहुँच अझै बढाउँदै यसको फाइदा त्यहाँका स्थानियका साथै पर्यटकहरूलाई दिन सफल भएका छौँ । यो हामी आम उपभोक्तालाई सुगमदेखि दुर्गमसम्म सेवा प्रदान गर्न सधैँ कटिवद्ध रहेको एक स्पष्ट प्रमाण हो,” एनसेलकी हेड अफ नेटवर्क लेना केसरी कंसाकारले भनिन् ।
हाल एनसेलले देशभर ४ हजार ५०० भन्दा बढि टावरमार्फत टुजी, थ्रीजी र फोरजी सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीले गुणस्तरीय फोरजी सेवा विस्तारलाई प्राथमिकता दिइरहेको अवस्थामा मार्मामा जडान गरिएको यो नयाँ टावरले टुजी र फोरजी प्रविधिमा आधारित दूरसञ्चार सेवा प्रदान गर्नेछ । यसबाट दुर्गम हिमाली क्षेत्रका बासिन्दाको सञ्चार पहुँचमा सुधार आउने र पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।













