काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानको समय फेरि सरेको छ । मतदानको सम्पूर्ण तयारी पूरा नभएसँगै दिउँसो १ बजेका लागि तय भएको मतदानको समय फेरी सरेको हो ।

महाधिवेशन सुरु भएको आज पाँचौँ दिनमा मतदान हुन लागेको हो । आज बिहान १० बजेबाट मतदान सुरु हुने भनिएको थियो । यद्यपि निर्वाचन समितिले दिउँसो १ बजेसम्मका लागि मतदानको समय सारेको थियो । अहिले पुन: २ बजेबाट मतदान हुने गरी निर्वाचन समितिले समय तोकेको हो। प्रतिनिधिहरू बिहानैदेखि मतदानको पर्खाइमा रहेका छन् ।
महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन् । मतदानका लागि काठमाडौंका तीन स्थानमा सात मतदान केन्द्र तोकिएको छ ।प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको हो ।
निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ । राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ । प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ । त्यसैगरी खुलामञ्चमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् ।
भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाका लागि पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था गरिएको छ । सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ । प्रतिनिधिको परिचय तथा मतदाता नामावली रुजु गरेपछि मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।













