Logo
Logo

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरु


315
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । शुक्रवार बिहान ७ बजेदेखि मतदान सुरु हुने भनिए पनि एक घण्टा ढिला गरी सुरु भएको हो ।

The current image has no alternative text. The file name is: nepali-congress-election.jpg

गण्डकी प्रदेश अन्तर्गत कास्की-२ का ८१ वर्षीय शोभाचन्द्र बरालले मत हालेर मतदानको सुरुवात गरेका हुन् । यसअघि बिहीबार गर्ने भनिएको मतदान तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो ।

एक जनाले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने छ । एक जनालाई मतदान गर्न करिब ३० मिनेट लाग्ने अनुमान छ । ७ हजार ३१७  महाधिवेशन प्रतिनिधिहरू रहेका छन् । 

प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृह र खुलामञ्चमा बुथहरू स्थापना गरी मतदान भइरहेको छ । राष्ट्रिय सभा गृहमा बागमती प्रदेशका मतदाताहरूले मतदान गरिरहेका छन् ।

खुलामञ्चमा बाँकी ६ प्रदेश र विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट निर्वाचित भएर आएका महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिरहेका छन् । खुलामञ्चमा रहेको तराई-मधेश हलमा कोशी र मधेश प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने छन् भने हिमाल हलमा गण्डकी प्रदेशका मतदाताले मतदान गरिरहेका छन् ।

पहाड हलमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम तथा जनसम्पर्क समितिबाट आएका महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिरहेका छन् ।  निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतपेटिकाहरू संकलन गरेर ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा लगेर गणना सुरु गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्