पोखरा । कास्कीको पोखरामा आज बिहान स्कुल बस दुर्घटनामा मृत्यु भएका ५ मध्ये ४ जनाको परिचय खुलेको छ । सनाखत हुनेहरुमा १५ वर्षीया ममता तिवारी, १३ वर्षीय असिम कँडेल, ६५ वर्षीय बाबुराम तिवारी र १५ वर्षीय सुवेच्छा तिवारी छन् । अर्का एकजना मृतक अन्दाजी १५ वर्षीय महिलाको परिचय खुल्न बाँकी रहेको छ ।

शान्ति मैदानस्थित कालिका बोर्डिङ स्कुलको बस आज बिहान पोखरा महानगरपालिका-२८ माझथानाबाट फर्किंदै गर्दा ओख्लेभीर भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा परेकाहरुलाई उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि ल्याइएको थियो । कुल १७ जनामध्ये पाँच जनालाई मृत अवस्थामै ल्याइएको थियो । बाँकी १२ जनाको उपचार जारी छ । १६ वर्षीया अस्मी कँडेल आईसीयूमा उपचाररत छिन् ।
अन्य घाइतेहरुमा १३ वर्षीया सोनिया तिवारी, १४ वर्षीया स्नेहा खत्री, १३ वर्षीय अंकित पराजुली, १५ वर्षीया स्मृति खत्री छन् ।यसैगरी १४ वर्षीया सुप्रिया आचार्य, १५ वर्षीया मेरिना तिवारी, १४ वर्षीया आकृति बुढाथोकी, ३१ वर्षीय अर्जुन शाही, १६ वर्षीय यमन मगर र ५७ वर्षीय तुलबहादुर गुरुङको पनि उपचार भइरहेको छ ।













