Logo
Logo

बालबच्चालाई दसैँ कसरी मनाउने ?


विक्रम रत्न

0
Shares


सरकारले गत वैशाखमा काठमाडौँका नदी किनारा तथा सार्वजनिक जग्गामा आश्रय लिएर बसेका सुकुम्वासी बस्तीहरूमा डोजर चलाएर हजारौँ घरटहरा भत्कायो । हजारौँ घर परिवारलाई विस्थापित गरायो । देशका विभिन्न जिल्लाबाट पेट पाल्न र लालाबाला हुर्काउने सपना बोकेर राजधानी काठमाडौँ भित्रिएका सुकुम्वासीहरू थापाथली, गैरीगाउँ, मनोहरा, शखंमुल, धोविखोला, बल्खु लगायतका खोला किनारामा दुःख, सुख गरेर पेट पाल्दै आएका थिए ।

बालेन प्रधानमन्त्री हुनासाथ सरकारले गत वैशाख १२ गते अचानक सुकुम्वासी बस्तीमा डोजर चलाउन थाल्यो । एकदिन अगाडि बस्ती खालि गर्न सूचना जारी गरिएको त थियो तर कतै कोठा खोज्न समेत समय नभएकाले उनीहरूले कुनै सामान सार्न पाएनन् । लुगाफाटा, भाडाकुडादेखि बालबालिकाको पढ्ने किताब, कापी समेत बाहिर निकाल्न नपाइ करिब दश दिन लगाएर काठमाडौँका १९ स्थानको सकुम्बासी बस्ती खालि गराइयो ।

ज्याला, मजदुरी गरेर प्राण धानिरहेका सुकुम्वासीहरूको छातीमाथि डोजर चलाएर तितरबितर पारेको राज्यले ७ होल्डिङ सेन्टरमा तत्कालका लागि सुकुम्वासी परिवारलाई राख्न त राख्यो तर न बस्ने बासको राम्रो प्रबन्ध, न त खाने गाँसको नै प्रबन्ध गराएर उनीहरूलाई होल्डिङ सेन्टर जर्बजस्त छोड्न बाध्य बनायो ।

केही उपाय नलागेर लाचार भइ होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूको पीडा दर्दनाक छ । न त बासको राम्रो सुविधा, न चाहे अनुसारको गाँस । केवल होल्डिङ सेन्टरमा बन्दी जसरी बस्न बाध्य छन् सुकुम्वासी परिवार । बजार नजिकै बसेका कारण ज्याला, मजदुरीका विभिन्न काम गरेर जीवनयापन गरिरहेका उनीहरूले होल्डिङ सेन्टरमा पुगेपछि कुनै कामसम्म पाएका छैनन् ।

हातमा रोजगारी छैन । काम नपाएपछि हातमा पैसा हुने कुरै भएन । कोठामा खाने सामल छैन । केही बिरामी परिहाले उपचार गर्न सक्ने अवस्था पनि छैन । छ त केवल पीडा र दर्द । मनभरि पीडा र दर्द बोकेर तीन होल्डिङ सेन्टरमा अनिश्चित भविष्य बोकेर दिन काटिरहेछन् सयौँ सुकुम्वासी परिवार । जो, होल्डिङ सेन्टर छोडेर कतै जान सकेनन्, सरकारले केही गरिदिन्छ कि भनेर आस मार्न पनि सकेनन् ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार हाल तीनवटा होल्डिङ सेन्टरमा १०९ परिवारका २६५ जना सुकुम्वासी रहेका छन् । इचंगुनारायणको अर्पाटमेन्टमा ४६ परिवारका ९८ जना, खरिपाटीमा ४२ परिवारका १०५ जना र बोडेमा २१ परिवारका ६२ जना सुकुम्वासी रहेका छन् । सुकुम्वासी बस्तीबाट हटाइएको सुरुवाती दिनहरूमा ७ वटा होल्डिङ सेन्टरमा ३८८ परिवारका १४८८ जना बसोबास गरिरहेकामा २७९ परिवारका १ हजार २२३ जनाले होल्डिङ सेन्टर छोडेर लाखापाखा लागिसकेका छन् । उनीहरू कहाँ गए ? र के गरिरहेका छन् ? सरकारी निकायले हिसाबकिताब राखेको छैन ।

हालसम्म होल्डिङ सेन्टरमै रहेका ति १०९ परिवार निरीह भएर आफूहरूले उपयुक्त बसोबासको स्थान पाउने र मन लागेको खान पाउने आशामा बसिरहेका छन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले अहिले ती सुकुम्बासीहरुलाई खाना खुवाउने काम मात्रै गरिरहेको छ ।

२५ हजार रुपैयाँ लिएर बाहिरिनेहरू बाहिरिए, होल्डिङ सेन्टरमा रहेका कतिपयले सरकारसँग त्यो २५ हजार रुपैयाँ पनि लिएका छैनन् । दोस्रो किस्ताको रूपमा आउने भनिएको १५ हजार रुपैयाँ पनि आउने, नआउने अनिश्चित छ । २५ हजार रुपैयाँ लिएर होल्डिङ सेन्टरमै बस्नेहरु पनि छन् । उनीहरूलाई सरकारले निकाल्ने रे भन्ने त्रास कहिलेकाहीँ होल्डिङ सेन्टरभरी फैलिन्छ ।

सुकुम्वासी बस्तीहरूमा बस्दा उनीहरू कतिपय प्लास्टिक टिपेर जीविकोपार्जन गर्थे । कतिपय भरिया बनेर जीविकोपार्जन गर्थे । आज उनीहरूको आयस्रोतको बाटो बन्द हुँदा चरम आर्थिक संकट बेहोरीरहेका छन् । रोजगारी दिने सरकारको कुनै योजना छैन । केवल उनीहरूलाई होल्डिङ सेन्टरमा टाउको लुकाउन दिइएको छ, क्यान्टिनबाट खाने व्यवस्था गरिएको छ । त्यसबाहेक उनीहरूको इच्छा र आवश्यकताको राज्यलाई कुनै चासो र चिन्ता छैन ।

होल्डिङ सेन्टरमा रहेकाहरू अधिकांश त वृद्धवृद्धा, रोगी र अशक्त परिवार छ । जसलाई झनै रोजगारीको आवश्यकता छ । जसलाई धेरै स्याहारसुसारको आवश्यकता छ । तर उनीहरूको स्याहारसुसारमा राज्यले ध्यान दिन त सकेन नै रोजगारीको अभावमा आफू स्वयंले समेत स्याहार गर्न नसकेर अव्यवस्थित जीवन बिताउन बाध्य छन् ।

बोडेस्थित सुकुम्वासी बस्तीमा ६ जनाको परिवारसहित बसोबास गर्दै आएका झवरलाल उराउ(सुमन) रोजगारीको त कुरै छोडौँ राम्रो खानपानको समेत व्यवस्था नभएको दुखेसो गर्छन् । सुकुम्वासी व्यवस्थापनका लागि सरकारले चालेको कदममा आफूहरूले साथ दिने भएपनि सुकुम्वासीहरूको मानवीय पक्षलाई समेत ध्यान दिँदै सरकारले उनीहरूको हालको आवश्यकता सम्बोधनमा लाग्नुपर्ने बताउँछन् ।

नेपालीहरूको ठुलो पर्व दसैँ दैलोमै आइसकेको छ । तर, होल्डिङ सेन्टरका सुकुम्वासी परिवारलाई आफ्ना लालाबालालाई कसरी मिठो खाना दिने भन्ने चिन्ताले सताएको छ । बालबच्चालाई कसरी राम्रो नाना लगाइदिने भन्ने चिन्ता छ । अब त जाडो मौसम पनि सुरु भइसक्यो, न्यानो लुगाको व्यवस्था कसरी गर्ने भन्ने चिन्ता छ । उनीहरूले सरकारलाई प्रश्न गरेका छन्, सरकार दसैँमा लालाबालालाई कसरी मिठो, मसिनो खुवाऊँ ? कसरी नयाँ नाना किनिदिऊँ ? दसैँ कसरी मनाऊँ ?

प्रतिक्रिया दिनुहोस्