Logo
Logo

आगलागीबाट ९४ भेटा मरे, करिब १० लाख क्षति


- दृष्टि न्युज/संवाददाता


जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–२ पेरे गाउँमा भेडाबाख्रा राख्ने गोठमा आगलागी हुँदा झण्डै रु नौ लाख बराबरको क्षति भएको छ ।
स्थानीय मयलाल कामीको भेडी गोठमा आगलागी हुँदा ९४ वटा भेडाबाख्रा मरेका छन् । प्रतिभेडाको सात हजार रुपैयाँका दरले छ लाख ५८ हजार र गोठभित्रका अन्य लत्ताकपडा र भाँडाकुडा गरी झण्डै नौ लाख रुपैयाँ क्षति भएको हो ।
गोठमा हुलेका सबै भेडाबाख्रा मरेको भेडा कृषक कैलो बुढाले बताउनुभयो । रातिको समयमा घरमा बालिएको आगो सल्केर भेडीगोठसम्म पुग्दा आगलागी भएको हुनसक्ने उनको भनाइ छ ।
बुढाका अनुसार ९० वटा भेडा र बिसे कामीका चार वटा भेडाबाख्रा आगोले जलेर मरेका हुन् । वनबाट चराएर ल्याएका भेडाबाख्रा गोठमा हुलेको अवस्थामा आगलागी हुँदा ती भेडाबाख्रा पूर्ण रुपमा जलेर मरेको पातारासी गाउँपालिका–२ का वडाध्यक्ष कन्न बोहराले बताए । मयलाल कामीको घरमा बालेको आगो सल्केको हुनसक्ने उनको भनाइ छ ।
बुढा र कामीका भेडाबाख्रा सधैँ एउटै गोठमा हुल्ने गरिएको थियो । भेडाबाख्रा पालन व्यवसाय गर्दै आएका किसानका सबै भेडाबाख्रा जलेपछि हातमुख जोड्न समस्या हुने पीडित किसान कैलो बुढाले गुनासो गरे । आयस्रोतको मुख्य आम्दानीका रुपमा पालिँदै आएका भेडा बाख्रा नष्ट हुँदा निकै ठूलो समस्यामा परेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्