काठमाडौं । लुम्बिनी विकास कोषमा राजनीतिक पहुँच र भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको आरोप लगाउँदै लुम्बिनी बचाउ महाभियानले शनिवार विरोध प्रदर्शन गरेको छ । महाभियानले विवादित नियुक्ति खारेज गर्न, उठेका आरोपको निष्पक्ष छानबिन गर्न र लुम्बिनीको पवित्रता तथा अन्तर्राष्ट्रिय प्रतिष्ठा जोगाउन माग गरेको छ ।

विरोधसभाका प्रमुख वक्ता वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले लुम्बिनीजस्तो अन्तर्राष्ट्रिय महत्वको सम्पदाको नेतृत्वमा नियुक्ति गर्दा योग्यता, नैतिकता, पारदर्शिता र कानुनी अवस्थालाई प्राथमिकता दिनुपर्ने बताए। उनले नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माको नागरिकता र आर्थिक कारोबारको स्रोतबारे प्रश्न उठाउँदै निष्पक्ष अनुसन्धान गर्न माग गरे । नागरिकता र आर्थिक कारोबारसम्बन्धी विषयमा उनले लगाएका आरोप भने स्वतन्त्र रूपमा पुष्टि भएका छैनन् ।
महाभियानका संयोजक अकरम खानले नियुक्ति प्रक्रियाले स्थानीय जनताको भावना र लुम्बिनीको महत्वलाई बेवास्ता गरेको आरोप लगाउँदै सम्बन्धित मन्त्रीको राजीनामा माग गरे । सरकारले निर्णय नसच्याए नवनियुक्त उपाध्यक्षलाई लुम्बिनी प्रवेशमा रोक लगाउनेसम्मका आन्दोलनका कार्यक्रम अघि बढाउने उनले चेतावनी दिए ।
महाभियानका सहसंयोजक मेघनाथ आचार्य, स्थानीय प्रतिनिधि मोहम्मद इस्लाम, कपिलवस्तु तिलौराकोट सङ्घर्ष समितिका अध्यक्ष रामनेवास यादव र प्रवक्ता रामबिकास चौधरीले पनि राजनीतिक भागबन्डा अन्त्य गरी पारदर्शी र कानुनसम्मत प्रक्रियाबाट पदाधिकारी नियुक्त गर्नुपर्नेमा जोड दिए ।
महाभियानले नियुक्ति प्रक्रियाको समीक्षा, सरकारबाट स्पष्ट जवाफ र उठेका आरोपको निष्पक्ष छानबिन नभएसम्म दबाबमूलक कार्यक्रम जारी राख्ने जनाएको छ ।















