Logo
Logo

लुम्बिनी बचाउ महाअभियानका संयोजकसहित दुई जना पक्राउ


315
Shares

काठमाडौं । लुम्बिनी विकास कोषको नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्ति बदरको माग गर्दै आन्दोलन गरिरहेको लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खान सहित दुईजना गएराति पक्राउ परेका छन् ।

The current image has no alternative text. The file name is: arrested-1.jpg

प्रहरीले मध्यराति लुम्बिनी पर्साचोकस्थित घरमा सुतिरहेको अवस्थामा ६१ वर्षीय संयोजक खान र लुम्बिनी सांस्कृतिक नगरपालिका ९ का ३३ वर्षीय वाविउद्दिन मुसलमानलाई पक्राउ गरेको अभियानका सहसंयोजक रामविकास चौधरीले जानकारी दिए ।

शान्तिपूर्णरुपमा आफ्ना माग राखेर आन्दोलन गरेको आधारमा प्रहरीले मध्यरातमा धरपकड गरेको भन्दै महाअभियानले दुवै जनालाई निस्शर्त रिहाइको माग गरेको छ । प्रहरीले उनीहरूलाई सार्वजनिक स्थानमा ‘उच्छृंखल गतिविधि’ गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ । 

महाअभियानले आनीको नियुक्ति बदर गरी स्थानीय योग्य व्यक्तिलाई कोषमा नियुक्ति गर्न माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेको छ । आन्दोलन अन्तर्गत महाअभियानले सोमबार दिउँसो पर्साचोकमा संस्कृति तथा  पर्यटन मन्त्री गनेश पौडेलको पुत्ला दहनसमेत गरेको थियो ।

कोषको उपाध्यक्षमा आवेदन नै नदिएकी आनी छोइङलाई नियुक्ति दिइएको भन्दै लुम्बिनी बचाउ महाअभियानसँगै कपिलवस्तु तिलौराकोट सङ्घर्ष समिति, लुम्बिनीवासी प्रदेश सांसद र पूर्व मन्त्री चन्द्रकेश गुप्ता, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, राष्ट्रिय जेनजी नागरिक अभियान लगायतले विरोध गर्दै आएका छन् । आनीमाथि उठेका विषयमा निष्पक्ष छानबिन गरेर निर्दोष सावित भए मात्र नियुक्ति स्वीकार्य हुने उनीहरूको माग छ ।

प्रतिक्रिया दिनुहोस्