Logo
Logo

सरकार ढाल्ने चर्चा चल्नु विडम्बनापूर्ण : बाबुराम भट्टराई


315
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार परिवर्तन गर्ने र ढाल्ने चर्चा विडम्बनापूर्ण तथा चिन्ताजनक रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत भट्टराईले प्रमुख राष्ट्रिय चाडपर्व सकिएलगत्तै देशमा आन्दोलनको आँधीबेहरी ल्याउने र सरकार परिवर्तन गर्ने चर्चा हुन थालेको प्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

The current image has no alternative text. The file name is: baburam-bhattarai.jpg

उनले उन्नत बहुदलीय लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्षबीच निरन्तर प्रतिस्पर्धा तथा सहकार्य हुनुका साथै सदन र सडकमा आलोचना–प्रत्यालोचना हुनु स्वाभाविक र आवश्यक रहेको बताएका छन् ।

‘प्रमुख राष्ट्रिय चाडपर्वहरू सकिए लगत्तै देशमा आन्दोलनको आँधीबेहरी ल्याउने, सरकार परिवर्तन गर्ने आदि चर्चा चल्न थाल्नु विडम्बनापूर्ण र चिन्ताजनक छ,’ उनले भनेका छन्, ‘उन्नत बहुदलीय लोकतन्त्रमा सत्ताधारी र प्रतिपक्षी दलहरू हुन्छन् र उनीहरूबिच निरन्तर प्रतिस्पर्धा र सहकार्य हुनु, सदन र सडकमा आलोचना९प्रत्यालोचना हुनु बिल्कुल स्वाभाविक र आवश्यक कुरा हो ।’

तर, निर्वाचनपछि पनि सरकार परिवर्तन वा ढाल्ने खेल दोहोरिरहनु देशलाई अनिश्चिततातर्फ धकेल्ने उनको भनाइ छ । विगतमा पटकपटक सरकार परिवर्तन हुँदा त्यसका दुष्परिणाम देखिसकिएको उल्लेख गर्दै उनले यस्तो प्रवृत्तिले अर्थतन्त्र कमजोर बनाउने, युवालाई विदेशिन बाध्य पार्ने र देशलाई भूराजनीतिक जोखिममा पार्ने चेतावनी दिए ।

भट्टराईले देश र जनताप्रति जिम्मेवार सबै नागरिकलाई गम्भीर बन्न आग्रह गरेका छन् । सरकार र राज्यका विभिन्न निकायमा रहेकाहरूलाई निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिँदै उनले विपत्तिमा परेका, ऐतिहासिक रूपमा वञ्चितीकरणमा परेका तथा गरिब र निमुखा जनताको आवाज सत्तामा रहेकाहरूले सुन्नुपर्ने बताएका छन् ।

सत्तामा रहेकाहरूले जनताको आवाज नसुने विधिसम्मत ढङ्गले दण्डित गर्न र पदबाट हटाउनुपर्ने उनको धारणा छ । ‘अतः देश र जनताप्रति जिम्मेवार सबै नागरिक गम्भीर बनौं ! सरकार र सत्ताका विभिन्न अङ्गमा रहेकाहरूलाई निरन्तर खबरदारी गरौं !विशेषतः विपत्तिमा परेका, ऐतिहासिक वञ्चितीकरणमा परेका, निर्धानिमुखा जनताको आवाजले सत्तामा रहनेहरूको कान घोचीरहौं । सत्तामा बस्नेहरूले नसुने तिनलाई विधिसम्मत ढङ्गले दण्डित गरौं, हटाऊँ !, उनले भने ।

यद्यपि, संविधानको परिधिभित्र रहेसम्म निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिनुपर्ने भट्टराईले बताए । सरकारले काम गर्न नसके वा गलत काम गरे अर्को निर्वाचनमार्फत बिदा गर्नुपर्ने उनको सुझाव छ । ‘परन्तु निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेसम्म आफ्नो पूरा अवधि काम गर्न दिऊँ ! काम नगरे वा बिगारे अर्को चुनावबाट बिदा गरौं !’ उनले भनेका छन्

प्रतिक्रिया दिनुहोस्