Logo
Logo

सरकार परिणामभन्दा ‘फण्डा’को पछि लाग्यो- आरेन राई


189
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले वर्तमान सरकार परिणाममुखी कामभन्दा प्रचारबाजीमा केन्द्रित भएको आरोप लगाएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकारले आफूले गरेका कामको मूल्याङ्कन सामाजिक सञ्जाल र त्यसका अल्गोरिदमका आधारमा गर्न नहुने भन्दै वास्तविक उपलब्धि र परिणामका आधारमा कामको मूल्याङ्कन गर्नुपर्ने बताएका हुन् ।

सरकारको पछिल्लो ६–७ महिनाको कार्यशैलीप्रति टिप्पणी गर्दै राईले छिमेकी मुलुकसँगको सम्बन्ध र राष्ट्रिय स्वाधीनताका विषयमा पनि प्रश्न उठाए । उनले कुनैपनि राजनीतिक दल स्थापित हुन छिमेकी मुलुकसामु झुक्नुपर्ने अवस्था हुनु दुःखद् भएको बताए । नेपालले पञ्चशीलको सिद्धान्त र बुद्धको विचारअनुरूप सबै राष्ट्रसँग सन्तुलित तथा सुमधुर सम्बन्ध कायम गर्नुपर्ने उनको भनाइ थियो । तर कुनैपनि देशसँग मैत्रीपूर्ण सम्बन्ध राख्नुको अर्थ राष्ट्रिय सार्वभौमिकतामा सम्झौता गर्नु नभएको उनले स्पष्ट पारे ।

प्रधानमन्त्री बालेन साहले सीमा विवादका विषयमा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै सांसद राईले त्यसलाई सच्याउनुपर्ने माग गरे । सीमासम्बन्धी विषयमा सत्ता पक्ष र प्रतिपक्षबीच मतभेद हुन नहुने उल्लेख गर्दै उनले राष्ट्रियता र देश निर्माणका सवालमा सबै एकजुट हुनुपर्ने बताए ।

प्रधानमन्त्रीको अभिव्यक्तिसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिप्रति पनि असन्तुष्टि जनाउँदै उनले त्यसबारे संसद्मा प्रश्न उठाउने बताए । राष्ट्रियताको पक्षमा उभिनु कुनैपनि राष्ट्रको विरोध गर्नु नभएको उनको भनाइ छ । राईले सामाजिक सञ्जालमा अल्गोरिदम र साइबर समूहको प्रयोग गरेर फरक मत राख्ने व्यक्तिको चरित्रहत्या गर्ने प्रवृत्तिप्रति पनि चिन्ता व्यक्त गरे ।

उनले कुनैपनि राजनीतिक दलप्रति अन्धभक्त नबन्न र देशको सार्वभौमिकता तथा राष्ट्रिय हितका विषयमा सचेत रहन युवाहरूलाई आग्रह गरे । उनले देशको हित र राष्ट्रिय स्वाधीनताका सवालमा दलगत आग्रहभन्दा माथि उठेर सचेत नागरिकका रूपमा उभिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्