
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज पार्टी केन्द्रीय कार्यालयमा उपाध्यक्ष विष्णु पौडेलको प्रमुख आतिथ्यतामा दोस्रो बैठक सम्पन्न भएको छ ।
बैठकको अध्यक्षता गरेका पार्टी सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालले राष्ट्रिय भेलाको तयारीका क्रममा अहिलेसम्म भएका कामबारे जानकारी गराए । उनले राष्ट्रिय भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्ला, स्थानीय तह, जनसंगठन तथा विभिन्न तहका जनप्रतिनिधिसहित कुल ३ हजार १६४ जनाको सहभागिता रहने जानकारी दिए ।
एमालेका अनुसार भेलामा ३४६ जना केन्द्रीय सदस्य, केन्द्रीय निकायबाट ८१ जना तथा आठ प्रदेश कमिटी, भारत प्रवास र प्रवासी नेपाली मञ्चका तर्फबाट ५५ जना सहभागी हुनेछन् । त्यसैगरी, ७७ जिल्ला, सम्पर्क कमिटीअन्तर्गतका सात जिल्ला कमिटी र राजधानी प्रदेशअन्तर्गतका चार जिल्लासहित जिल्ला तहबाट ४४० जनाको सहभागिता रहनेछ ।
पालिकास्तरका कमिटीका अध्यक्ष तथा पदाधिकारीमध्येबाट एक जनाका दरले १ हजार ५०६ जना सहभागी हुनेछन् । त्यस्तै, संघीय संसद तथा राष्ट्रियसभासहित ३५ जना, प्रदेशसभा सदस्य १५५ जना, स्थानीय तहका निर्वाचित प्रतिनिधिमध्ये मेयर तथा गाउँपालिका अध्यक्ष १९६ जना र उपमेयर तथा गाउँपालिका उपाध्यक्ष ३४२ जना सहभागी हुनेछन् । जनसंगठनबाट ९६ जनाको सहभागिता रहने एमालेले जनाएको छ ।
राष्ट्रिय भेलालाई पार्टीको आन्तरिक एकता सुदृढ गर्ने, संगठनलाई थप सक्रिय बनाउने तथा आगामी निर्वाचन र राजनीतिक गतिविधिका लागि पार्टी पङ्क्तिलाई एकताबद्ध रूपमा परिचालित गर्ने महत्वपूर्ण अवसरका रूपमा एमालेले लिएको छ ।















