
काठमाडौं । सार्वजनिक लेखा समितिअन्तर्गतको निर्वाचन प्रहरी पोसाक खरिदसम्बन्धी अध्ययन उपसमितिकी संयोजक एवं राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले तत्काल प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट नहटाउने विश्वास व्यक्त गरेकी छन्।
सिंहदरबारमा बसेको उपसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अध्ययन उपसमितिको प्रतिवेदन आउनुअघि नै सरकारले हस्तक्षेप गर्न नमिल्ने र सरकारले त्यसो नगर्नेमा आफू विश्वस्त रहेको बताएकी हुन् ।
सांसद ओलीले सञ्चारमाध्यममा आएका समाचार र उपसमितिको बैठकबिच कुनै सम्बन्ध नरहेको दाबी गरिन् । सरकारले आफैँ गठन गरेको अध्ययन समितिको काममा हस्तक्षेप गरेर कुनै निर्णय लिने सम्भावना नरहेको उनको भनाइ छ ।
नेपालमा सुरुमै मिडिया ट्रायल गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले सञ्चारमाध्यममा प्रकाशित समाचार र उपसमितिको बैठकको कुनै सरोकार नरहेको स्पष्ट पारिन्।
‘नेपालमा सुरुमै मिडिया ट्रायल गर्ने प्रवृत्ति छ । तर त्यो समाचार र हाम्रो बैठकको कुनै सरोकार छैन । यो पूर्वनिर्धारित बैठक थियो,’ उनले भनिन्, ‘ सरकारले अध्ययन गर्ने जिम्मेवारी दिएर अध्ययन समिति गठन गरिसकेकाले आफैँ हस्तक्षेप गरेर निर्णय गर्छ जस्तो मलाई लाग्दैन। आधिकारिक रूपमा नआएकाले मैले यसमा विशेष टिप्पणी गर्न चाहिनँ।’
अध्ययन अनुसन्धानअघि नै निष्कर्षमा पुग्नु न्यायसङ्गत नहुने ओलीको भनाइ छ ।















