
काठमाडौं । पत्रकार पक्राउ प्रकरणलगत्तै सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ ।
रास्वपा सभापति रवि लामिछानेले आज शनिबार बिहान ११ बजे बस्नेगरी पार्टीको सचिवालय बैठक बोलाएका हुन् । समसामयिक विषयमा छलफल गर्न बैठक बाेलाइएकाे प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
यसअघि शुक्रबार साँझ सभापति लामिछानेले कानुनमन्त्री सोबिता गौतमसहित कानुनविद्समेत रहेका पार्टीका सांसदहरूसँग छलफल गरेका थिए ।
शुक्रबार साँझ सादा पोसाकका प्रहरीले समाचार कक्षमै प्रवेश गरेर नेपालप्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत, मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई नियन्त्रणमा लिएको थियो ।
यस्तै पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोसाकका प्रहरी नयाँ पत्रिकाको कार्यालयमै प्रवेश गरेका थिए । मैनाली नभेटिएपछि प्रहरीले नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तसँग अढाई घण्टा गलफती गरेको थियो ।















